काठमाडौं– गत आर्थिक वर्ष २०८१–८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार गत वर्ष कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएकामा १५ खर्ब १२ अर्ब ९८ करोड (८१.३३ प्रतिशत) खर्च भएको छ ।
चालु खर्च शीर्षकमा ११ खर्ब ४० अर्ब ६७ करोड विनियोजन भएकामा ९ खर्ब ५६ अर्ब ३६ करोड रुपैयाँ (८३.८४ प्रतिशत) खर्च भएको छ । पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएकामा २ खर्ब २३ अर्ब ९४ करोड रुपैयाँ (६३.५६ प्रतिशत) खर्च भएको छ ।
वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड विनियोजन भएकोमा ३ खर्ब ३२ अर्ब ६७ करोड रुपैयाँ (९०.५८ प्रतिशत) खर्च भएको प्रतिवेदनमा जनाइएको छ ।
गत आर्थिक वर्षमा कुल ११ खर्ब ९६ अर्ब १८ करोड ९८ लाख राजस्व संकलन भएको छ । जसमध्ये कर राजस्व १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख, गैरकर राजस्व १ खर्ब २८ अर्ब ९४ करोड ४८ लाख र अन्य प्राप्ति १७ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ । बजेटमा गरिएको राजस्व संकलन लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँको तुलनामा ८४.२८ प्रतिशत राजस्व संकलन भएको हो ।
गत आर्थिक वर्षमा अनुदान २३ अर्ब ५३ करोड र ऋण १ खर्ब २५ अर्ब ४० करोड गरी कुल १ खर्ब ४८ अर्ब ९३ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त भएको छ । गत वर्षको कुल वैदेशिक सहायतामा अनुदान १५.८० प्रतिशत र ऋण ८४.२० प्रतिशत छ।
घाटा बजेट परिपूर्तिका लागि गत वर्ष सरकारले ३ खर्ब २९ अर्ब ९९ करोड रुपैयाँ आन्तरिक ऋण १ खर्ब २५ अर्ब ४० करोड बाह्य ऋण गरी कुल ४ खर्ब ५५ अर्ब ३९ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको छ ।









