काठमाडौं– एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ आफ्ना ग्राहकलाई नेपालपे कार्ड जारी गर्ने सम्बन्धमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनएचसीएल) सँग रणनीतिक सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

उक्त सम्झौताले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको रूपमा इजाजत प्राप्त एनसीएचएलद्वारा सञ्चालित स्वदेशी कार्ड योजनाअन्तर्गतको नेपालपे कार्ड जारी गर्न बैंक प्रमुख साझेदार बनेको र बैंकलाई एनसीएचएलको राष्ट्रिय कार्ड स्विच एनपीएस–एनसीएसको प्रमुख साझेदारको रूपमा स्थापित गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यसले बैंकलाई नेपालको राष्ट्रिय भुक्तानी स्विचमा पूर्ण रूपमा एकीकृत हुन मद्दत गर्नुको साथै स्वदेशी कार्डको रुपमा परिचित नेपालपे जारी गर्न बाटो खुलाउने बताइएको छ । साथै, देशभरका पीओएस र एटीएम नेटवर्कमार्फत गरिने कारोबार राष्ट्रिय शुल्क संरचनाअन्तर्गत रहने सुनिश्चितता समेत गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौताले बैंकका ग्राहकलाई आधुनिक, भरपर्दो र राष्ट्रिय मापदण्डको स्वदेशी कार्ड सेवाहरूमा पहुँच सुनिश्चित गरी डिजिटल बैंकिङप्रति बैंकको दृढ प्रतिबद्धतालाई टेवा दिने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय