चितवन– अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी मूल्य घटाइएको जनाएको छ । नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।

अब समर्थन मूल्यअनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटाको) ३७५ र मिडियमको ३३५ रुपैयाँ कायम गरिएको छ । यसअघि माघ २२ गते ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४३५ र मिडियमको ४०५ तोकिएको थियो । माघ ११ गते ठूलो अण्डाको प्रतिक्रेट मूल्य ४९५ र मिडियमको ४७५ रुपैयाँ कायम भएको थियो ।

गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा ५६५ रुपैयाँ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको मूल्य ५५० थियो । संघका अध्यक्ष पोखरेलका अनुसार भारतीय सेतो अण्डा धेरै भित्रिएको र उत्पादन बढेका कारण यहाँको अण्डाले बजार र मूल्य पाउन नसकेको हो ।

भारतीय अण्डा रोक्न संघले सरकारी निकायसँग निरन्तर रूपमा माग गरिरहेको उनले जानकारी दिए ।

अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । यस आधारमा लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ ६ पैसा पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निराश बनेका बनेका छन् ।

संघले देशभरका फार्मबाट मूल्य लिएर चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य जारी गर्ने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय