काठमाडौं– पश्चिमी क्यानडाको ब्रिटिस कोलम्बियामा रहेको एउटा विद्यालय र घरमा बुधबार भएको गोलीकाण्डमा नौ जनाको मृत्यु भएको र कम्तीमा २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
टम्बलर रिज सेकेन्डरी स्कुलभित्र ६ जना मृत अवस्थामा फेला परेको र सातौं व्यक्तिको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्राप्त समाचारमा उल्लेख छ ।
अधिकारीहरूका अनुसार संदिग्ध व्यक्तिको शव पनि विद्यालयमै आफ्नै प्रहारबाट लागेको चोटसहित फेला परेको बिबिसीले जनाएको छ ।
नजिकैको एउटा घरभित्र थप दुई जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीले यी गोलीकाण्डहरू आपसमा सम्बन्धित हुन सक्ने विश्वास गरे पनि ‘यसलाई निश्चित रूपमा पुष्टि गर्ने अवस्थामा छैनौं’ भनेको छ ।
अधिकारीहरूले आक्रमणकारीको परिचयन नखुलेको बताएका छन् । उनीहरुले आक्रमणकारीको नाम र लिंग पनि सार्वजनिक गरेका छैनन् । यसअघि जारी गरिएको ‘सेल्टर–इन–प्लेस’ चेतावनीमा संदिग्धलाई “खैरो कपाल भएकी लुगा (ड्रेस) लगाएकी महिला’ भनेर वर्णन गरिएको थियो ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले यो ‘डरलाग्दो गोलीकाण्ड’बाट आफू “विक्षिप्त र दुःखी’ भएको बताएका छन्, भने ब्रिटिस कोलम्बियाका प्रिमियर डेभिड एबीले सुरक्षाकर्मीहरूको तीव्र प्रतिक्रियाका कारण ‘दुर्घटना अझ बढी भयावह हुनबाट जोगिएको’ बताएका छन् ।
टम्बलर रिज सेकेन्डरी स्कुलका एक विद्यार्थीले सीबीसीसँग कुरा गर्दै गोली चलिरहेको बेला आफू र उनका सहपाठीहरूले ‘टेबलहरू तानेर ढोका थुनेको’ बताएका छन् ।
टम्बलर रिज करिब २ हजार ४०० जनसंख्या भएको सहर हो, जुन ब्रिटिस कोलम्बियाको सबैभन्दा ठूलो सहर भ्यानकुभरबाट करिब ७५० माइल (१,२०० किलोमिटर) उत्तरतर्फ अवस्थित छ ।









