काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले नेपाली चेली सोना श्रेष्ठलाई दक्षिण एसिया विभागको महा–निर्देशक नियुक्त गरेको छ । अब उनले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडिबीको रणनीति तथा कार्य सञ्चालनको नेतृत्व गर्नेछिन् ।

श्रेष्ठसँग २७ वर्षभन्दा बढी विकास क्षेत्रको अनुभव छ, जसमध्ये २३ वर्ष उनले एडिबीमै बिताएकी छिन् । श्रेष्ठ यसअघि दक्षिण एसिया विभागमा उप–महानिर्देशक थिइन् । उनी एडिबीको स्वतन्त्र मूल्यांकन विभाग, दक्षिण–पूर्वी एसियाका लागि वित्तीय क्षेत्र तथा व्यापार प्रभाग तथा इन्डोनेसियाका लागि उप–देश निर्देशकको भूमिकासहित विभिन्न वरिष्ठ पदहरूको जिम्मेवारी वहन गरिसकेकी छिन् ।

‘दक्षिण एसियाको महा–निर्देशक नियुक्त हुन पाउनु मेरो लागि सम्मानको विषय हो,’ श्रेष्ठले भनेकी छिन्, ‘सदस्य देशहरूसँग नजिकबाट सहकार्य गर्दै समावेशी र दिगो विकासको प्रवद्र्धन गर्न म उत्सुक छु ।’

उनले संयुक्त राज्य अमेरिकास्थित क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी र स्नातकोत्तर उपाधि तथा म्यासाचुसेट्सस्थित स्मिथ कलेजबाट स्नातक उपाधि हासिल गरेकी छन् ।

सन् १९६६ मा स्थापना भएको एडिबी ६९ सदस्यहरूले स्वामित्व गरेको बहुपक्षीय विकास बैंक हो, जसले एशिया तथा प्रशान्त क्षेत्रमा दिगो वृद्धि र विकासलाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय