काठमाडौं– सर्वसाधारणले ८२० रुपैयाँ ८० पैसा हालेर किनेको रिलायन्स स्पिनिङ मिल्सको सेयरको पहिलो कारोबार बढीमा ३०० रुपैयाँमा हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले दोस्रो बजारमा सूचीकृत सेयरको पहिलो कारोबारको लागि अंकित मूल्यको आधारमा मूल्य रेन्ज तोक्ने व्यवस्था गरेकोले यस्तो भएको हो ।

यसअघि कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थका आधारमा त्यसको तीन गुणासम्मको मूल्य रेन्ज तोक्ने व्यवस्था थियो । माघ अन्तिम साता सम्पन्न नेप्से सञ्चालक समिति बैठकले नेटवर्थ सकारात्मक भएका कम्पनीको मूल्य रेन्ज अंकित मूल्यका आधारमा तोक्ने निर्णय गरेको नेप्से स्रोतले जानकारी दिएको छ ।

पहिलो कारोबारको मूल्य रेन्ज सम्बन्धमा नयाँ निर्णय गरेपछि नेप्सेमा दुई कम्पनी–– रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको सेयर सूचीकरण भएको छ । दुवै कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम १०० देखि अधिकतम ३०० रुपैयाँसम्म मूल्य रेन्ज तोकिदिएको छ ।

सालपा विकास बैंकको ५२ लाख २३ हजार ८८० कित्ता र रिलायन्स स्पिनिङ मिल्सको १ करोड ९० लाख कित्ता सेयर दोस्रो बजारमा सूचीकृत भएको छ ।
रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सेयर विक्री गरेको थियो । रिलायन्सको सेयरलाई संस्थाहरुले ९१२ रुपैयाँ र सर्वसाधारणले ८२० रुपैयाँ ८० पैसा तिरेका छन् । यो कम्पनीको सेयर पहिलोपटक बेच्ने व्यक्तिले प्रतिकित्ता ५२० रुपैयाँ ८० पैसा घाटा खानुपर्छ ।

रिलायन्सले योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख १५ हजार ५९६ कित्ता, सामूहिक लगानी कोषहरूलाई ५७ हजार ७९८ कित्ता, कर्मचारीहरुलाई ५७ हजार ७९८ कित्ता र सर्वसाधारणमा ९ लाख २४ हजार ७६८ कित्ता सेयर बेचेको छ ।

दोस्रो बजारमा सूचीकरणपछि कम्पनीले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बेचेको सेयर फागुन ४ गतेदेखि करोबार हुनेछ । सामूहिक लगानी कोषहरुले भने सर्वसाधारणमा बाँडफाँट भएको मितिदेखि ६ महीनासम्म दोस्रो बजारमा बेच्न पाउने छैनन् । संस्थापक र कर्मचारीतर्फको सेयर ३ वर्षसम्म लकइनमा रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय