सिद्धार्थनगर (भैरहवा)– नेपाल आयल निगमले ग्यास आयात नियमित रहेको बताए पनि देशभरका उपभोक्ताले एक सिलिन्डर ग्यास पाउन ठूलै सास्ती झेलिरहेका छन् ।
उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिन्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था छ । ग्यास विक्रेताले समेत मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेको उनीहरूको भनाइ छ । ग्यास विक्री केन्द्रमा सिलिन्डरको लामो लाइन देख्न सकिन्छ ।
लामो समयसम्म पालो कुर्दा पनि खाना पकाउने एलपी ग्यास पाउन नसकेको भैरहवाका स्थानीय प्रदीप ज्ञवालीले भने। नियमित भान्छा चलाउन पनि ग्यास नपाउने अवस्था आउँदा दैनिक जीवन कष्टकर हुँदै गएको उनको भनाइ छ ।
ग्यास विक्रेताले पनि कम्पनीबाट पर्याप्त ग्यास उपलब्ध नगराउँदा अभाव देखिएको बताएका छन् । मागअनुसारको आपूर्ति नहुँदा उपभोक्तालाई उपलब्ध गराउन नसकिएको उनीहरूको भनाइ छ ।
यद्यपि भैरहवा भन्सार कार्यालयका अनुसार भने ग्यास आयात नियमित रूपमा भइरहेको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार केही दिन निर्वाचनका कारण आयातमा सामान्य समस्या देखिए पनि अहिले अवस्था सामान्य भइसकेको छ । दैनिक रूपमा ग्यास बोकेका बुलेट ट्यांकर नाकाबाट नेपाल भित्रिने क्रम जारी रहेको जनाइएको छ ।
स्थानीय ग्यास विक्रेताका अनुसार पछिल्लो समय उपभोक्ताले सम्भावित अभावको आशंकामा आवश्यकभन्दा बढी ग्यास मौज्दात राख्न थालेपछि बजारमा अभाव देखिएको हो । पहिले दैनिक सीमित संख्यामा बिक्री हुने ग्यास सिलिन्डर अहिले केही घण्टामै सकिने गरेको बताइएको छ ।
सीमावर्ती क्षेत्रमा भने नेपालबाट भारततर्फ ग्यास सिलिन्डर लैजाने प्रयाससमेत बढेको पाइएको छ । भारतीय बजारमा ग्यासको मूल्य बढी हुनुका साथै अभाव देखिएकाले सीमावर्ती क्षेत्रका नेपालबाट ग्यासका सिलिण्डर भारततर्फ तस्करी भइरहेको सीमा क्षेत्रका बासिन्दाले बताउने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले सीमाबाट ग्यासको अवैध ओसारपसार हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर निगरानी कडा पारिएको जानकारी दिए। उनका अनुसार सीमावर्ती क्षेत्रमा जाँचलाई कडाइ गरिएको छ ।
यसैबीच, सीमावर्ती इलाका प्रहरी कार्यालय बेलहियाले भारततर्फ लैजाँदै गरेको र भारतबाट नेपालतर्फ ल्याइँदै गरेको गरी केही ग्यास सिलिण्डर नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले सीमामा निगरानी बढाइएको र अवैध ओसारपसार रोक्न आवश्यक कदम चालिएको बताएको छ ।









