काठमाडौं– पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले विपक्षीका कारण देखाउ आदेश जारी गरेको छ। सोमबार न्यायाधीश कुमार रेग्मीको इजलासले इजलासले लेखकलाई पक्राउ गर्नुको कारण लिखित रुपमा पेस गर्न आदेश दिएको हो ।

गैरकानुनी रूपमा थुनामा राखिएकोले लेखकलाई तत्काल रिहा गर्नुपर्ने माग गर्दै आइतबार बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस नेता लेखकका तर्फबाट यशोदा लेखकले निवेदन दर्ता गराएकी हुन् ।

गएको भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै उक्त घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले तत्कालीन गृहमन्त्री लेखकसहित तत्कालीन प्रधानमन्त्री लगायत सुरक्षा अधिकारीहरुमाथि थप अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेको थियो ।

जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो । सोही दिन सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पक्राउ गरेको छ ।

लेखकको रिटमा सर्वोच्चले जारी गरेको आदेशमा भनिएको छ– यसमा केकसो भएको हो निवेदकको मागबमोजिम किन आदेश जारी हुन नपर्ने ? आदेश जारी हुन नपर्ने भए आधार र कारण तथा निवेदकलाई पक्राउ गर्दा मुलुकी फौजदारी कार्यविधि २०७४ को ९(६) को पूर्वअवस्थाको विद्यमानता रहे, नरहेको समेत खुल्ने गरी बाटोको म्यादबाहेक सूचना पाएको तीन दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जबाफ पेस गर्नु ।’

लेखकलाई गैरकानुनी रूपमा पक्राउ गरेको भन्दै उनकी पत्नी यशोदाले आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरूद्ध पनि उनकी पत्नी राधिका शाक्यले सर्वोच्चमा रिट दायर गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय