काठमाडौं– हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रहरीले आज पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले काठमाडौंको नागार्जुन नगरपालिका–८ बस्ने गोल्छालाई नक्सालबाट पक्राउ गरेको हो । सीआईबी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।
गोल्छालाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा ९१० र दफा ९८ बमोजिम कसुरमा सोही ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नियन्त्रणमा लिएको प्रवक्ता श्रेष्ठले बताए ।
धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ब्युरोमा प्राप्त हुन आएकाले सोही आधारमा आजै काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ ।









