काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा राख्न निवेदन प्राप्त भएको अध्यागमन विभागले जनाएको छ ।
सोही बमोजिम उनीहरुलाई कालोसूचीमा राखिएको विभागको भनाइ छ । राष्ट्रिय खेलकुद परिषदले एन्फाको विषयमा छानबिन गर्न गठन गरेको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वको उपसमितिले आर्थिक विषयमा छानबिन गर्न भन्दै नेम्बाङसहितका पदाधिकारीको पासपोर्ट कालोसूचीमा राख्न पत्राचार गरेको खेलकुद परिषद् स्रोतले जानकारी दिएको छ ।
उक्त पत्र युवा तथा खेलकुद मन्त्रालय हुँदै गृह मन्त्रालय पुगेको थियो। त्यसपछि गृह मन्त्रालयबाट अध्यागमनमा पत्र पुगेपछि एन्फाका पदाधिकारीहरुको पासपोर्ट कालोसूचीमा राखिएको हो।
अध्यागमन स्रोतका अनु्सार एन्फाका पदाधिकारीहरुलाई विदेश जान नदिनु भनेर पत्र प्राप्त भएको छ ।
पछिल्लो समय खेलकुद परिषद र एन्फाबीच विवाद छ। आफ्नो निर्देशन विपरित निर्वाचन गर्न लागेको भन्दै एन्फामाथि खेलकुद परिषदले तीन महिनाको निलम्बन गरेको थियो।
साथै एन्फामा अनिमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीको विषयमा खेलकुद मन्त्रालयमा पत्र प्राप्त भएका थिए। त्यसपछि राष्ट्रिय खेलकुद परिषदले छानबिनका लागि उपसमिति गठन गरेको थियो।
यसबीचमा एन्फाका पदाधिकारी क्यानडाको भ्यानकुभरमा हुने ७६औं फिफा कंग्रेसमा हुने कार्यक्रम छ। फिफा कंग्रेस बिहीबारदेखि सुरु हुँदैछ। पासपोर्ट कालोसूचीमा परेपछि एन्फा पदाधिकारीको क्यानडा भ्रमण अनिश्चित बनेको छ।









