गण्डकी– सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिएसँगै पर्यटकीय राजधानी पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको छ ।
दुईदिने बिदाका कारण पोखराका होटेलमा विगतको तुलनामा १० प्रतिशत पर्यटकहरू बढेको होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखरामा विशेष गरी आन्तरिक पर्यटकको चहलपहल बढेको र यस समयमा क्षमताको १० प्रतिशत थप पर्यटकहरू बढिरहेको उनले जानकारी दिए ।
‘सामान्यतः दुईदिने बिदाका कारण आन्तरिक पर्यटकहरू दुई दिन पोखरामा बिताएर फर्कने गरेका छन्,’ उनले भने, ‘यसले समग्र पोखराको पर्यटनलाई चलायमान बनाउन महत्वपूर्ण सहयोग पुर्याएको छ ।’
पोखरा आउने पर्यटकहरू पोखराको फेवातालसहित लेखनाथ क्षेत्रका तालहरूमा घुमफिर, जलविहार गर्नाका साथै साहसिक पर्यटनका गतविधिहरू प्याराग्लाइडिङ, बन्जी जम्प, जिपलाइन आदिमा रमाउने गरेका छन् ।
पोखरामा रहेका धार्मिक पर्यटकीय तीर्थस्थलहरू विन्ध्यवासिनी, तालबाराही, पुम्दीकोट, गुप्तेश्वर महादेव गुफा, विश्व शान्ति स्तूप आदिमा पुग्ने गरेका छन् भने अन्तरराष्ट्रिय पर्वतीय संग्र्रहालय, महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर महादेव गुफा आदिको अवलोकन गर्ने गरेका छन् ।
आन्तरिक पर्यटन बढाउनका लागि संघले यसअघि पटकपटक दुईदिने बिदाको विषय समेत उठाएको बताउँदै उनले यसले पोखराको मात्र नभई समग्र देशको पर्यटनमा टेवा पुगेको धारणा राखे ।
पोखराको पर्यटनमा विशेष गरी फागुन, चैत र वैशाख तथा असोज, कात्तिक र मंसिरलाई मुख्य पर्यटकीय यामका रुपमा लिने गरिएको छ । वर्तमानमा होटेलहरूको क्षमताको करिब ६० प्रतिशत भरिभराउ भइरहेको अध्यक्ष सुवेदीले जानकारी दिए ।
पोखराको समग्र पर्यटनमा भएको ८ खर्ब लगानीमध्ये ६ खर्ब लगानी यहाँका होटेलमा रहेको उनले जानकारी दिए । उनका अनुसार करिब १ हजार २०० को संख्यामा होटेलहरू रहेको पोखराले दिनमा ४० हजार जनासम्म पर्यटक राख्न सक्छ ।









