काठमाडौं– जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई थप हिरासतमा राख्ने अनुमति दिन इन्कार गरेको छ ।
जिल्ला अदालतको यो आदेशसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई हिरासतमुक्त गरी अनुसन्धान अघि बढाउनुपर्ने भएको छ ।
न्यायाधीश मोना सिंहको इजलासले यसअघि जारी भएको पक्राउ अनुमतिको म्याद नथप्ने आदेश गरेको हो । अदालतको आदेशमा भनिएको छ, ‘प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्नेसम्मको अवस्थाको विद्यमानता नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (३) बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न मिलेन ।’
सोमवार सर्वोच्च अदालतले धरौटी र जमानतको व्यवस्था हुँदाहुँदै किन थुनामा राखेर अनुसन्धान अघि बढाएको भनी धितोपत्र कसुरको अनुसन्धानमाथि प्रश्न उठाएको थियो ।
सर्वोच्चको आदेश आउनासाथ सीआईबीले गोल्छालाई धितोपत्रसम्बन्धी कसुरको साटो बीमासम्बन्धी कसुरको आरोपमा अनुसन्धान अघि बढाइएको भन्दै रिहा गर्न मानेको थिएन ।
मंगलबार बीमासम्बन्धी कसुरमा अनुसन्धानको लागि हिरासतमा राख्ने म्याद थपका लागि अदालत लैजाँदा जिल्ला अदालतले म्याद थप्न अस्वीकार गरेको हो ।









