काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आजै प्रकाशित गर्ने निर्णय गरेको छ । सोही अनुसार अहिले बोर्ड परीक्षाफल प्रकाशनको तयारीमा जोडतोडले जुटको छ ।
गत चैत १९ गतेदेखि देशभरका १ हजार ९६६ परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको थियो । यस वर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको १ परीक्षा केन्द्रबाट २३ जना परीक्षामा सहभागी हुन आवेदन दिएका थिए ।
यसरी हेर्न सकिन्छ नतिजा
बोर्डले आज एक सूचना जारी गर्दै एसइईको नतिजा हेर्ने वेबसाइटसहितको सूची सार्वजनिक गरेको छ । जसअनुसार एसएमएस, आइभिआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिने जनाएको छ । विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्टकोडमार्फत नतिजा हेर्न सक्ने कार्यालयले जनाएको छ ।
त्यस्तै, नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र युएसएसडीमार्फत नतिजा हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट http://www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्ड http://www.neb.gov.np र नेपाल टेलिकम http://www.see.ntc.net.np लगायतबाट नतिजा हर्न सकिन्छ ।










