काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गरेको छ । नतिजा अनुसार यसपालि ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड पाएको बोर्डले सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

गत वर्षको तुलनामा यसपालि ४.१७ प्रतिशत विन्दुले एसईईको नतिजामा सुधार आएको छ । गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेड पाएका भएका थिए । ग्रेड पाउने विद्यार्थीले ११ कक्षामा भर्ना हुन पाउँछन् ।

एसईई २०८२ मा जीपीए १‍.६० देखि २ जीपीए ल्याउने विद्यार्थी ७ जना रहेका छन् । यस्तै, २ देखि २.४० जीपीए ल्याउने ५,१९० जना, जीपीए २.४० देखि २.८० ल्याउने ५५,९७७ जना, जीपीए २.८० देखि ३.२० ल्याउने ९,४२२ जना, जीपीए ३.३० देखि ३.६० ल्याउने ८०,३७२ जना, जीपीए ३.६० देखि ४ जीपीए ल्याउने ४८, ३९२ र नन ग्रेडेडमा १,४६,५०७ गरी जम्मा ४,३०,६६७ विद्यार्थी उत्तीर्ण भएको बोर्डले जानकारी दिएको छ ।

गत चैत १९ गतेदेखि देशभरका १ हजार ९६६ परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको थियो । यस वर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको १ परीक्षा केन्द्रबाट २३ जना परीक्षामा सहभागी हुन आवेदन दिएका थिए ।

यसरी हेर्न सकिन्छ नतिजा
बोर्डले आज एक सूचना जारी गर्दै एसइईको नतिजा हेर्ने वेबसाइटसहितको सूची सार्वजनिक गरेको छ । जसअनुसार एसएमएस, आइभिआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिने जनाएको छ । विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्टकोडमार्फत नतिजा हेर्न सक्ने कार्यालयले जनाएको छ ।

त्यस्तै, नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र युएसएसडीमार्फत नतिजा हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट http://www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्ड http://www.neb.gov.np र नेपाल टेलिकम http://www.see.ntc.net.np लगायतबाट नतिजा हर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय