काठमाडौं– सरकारले अर्को सूचना जारी नभएसम्मका लागि भाडामा चल्ने सवारी दर्ता नगर्ने भएको छ । बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले बिहीबार सबै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहलाई पत्राचार गर्दै भाडाका सवारी दर्तामा रोक्न निर्देशन दिएको हो । विभागल विद्युतीय सवारी (ईभी) को समेत नयाँ दर्ता रोक्न निर्देशन दिएको हो ।

विभागले परिपत्रमा सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा आवागमनमा कठिनाइ उत्पन्न भएको, इन्धनको बढ्दो मूल्य र सवारीको अत्यधिक चापले सिर्जना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सरकारले सार्वजनिक सवारीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णय गरेको जनाएको छ ।

विभागले यो निर्णय ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) मा टेकेर गरेको जनाएको छ । उक्त ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सडकको स्थिति वा अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्न मनासिब देखेमा विभागले आदेश दिन सक्ने कानुनी व्यवस्था छ ।

सरकारले सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नगरेसम्मका लागि तत्काल यो निर्णय लागू हुने बताएको छ । यो निर्णयसँगै अब अर्को व्यवस्था नभएसम्म देशभर कुनै पनि प्रकारका नयाँ सार्वजनिक सवारी साधन दर्ता हुने छैनन् ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले भाडामा चल्ने सबै किसिमका सवारीलाई सार्वजनिक सवारी साधनको वर्गमा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय