काठमाडौं– चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान ९.२२ प्रतिशत अनुमान रहेको छ । गत वर्ष यस क्षेत्रको यस्तो योगदान ८.८६ प्रतिशत रहेको थियो ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सदनमा पेस गरेको आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षणमा पछिल्लो दशकमा कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान वार्षिक औसत ८ प्रतिशत र वृद्धिदर ४.१६ प्रतिशत रहेको छ ।

सर्वेक्षणमा सरकारी शैक्षिक संस्थामा विद्यार्थी संख्या घटेको, निजी शैक्षिक संस्थामा विद्यार्थी संख्या न्यून भएको तथा शिक्षा क्षेत्रमा खर्चसमेत कमी आएकाले चालु आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि १.५० प्रतिशतले मात्र बढ्ने अनुमान गरिएको छ । गत आवमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि २.३६ प्रतिशतले बढेको थियो ।

सर्वेक्षणअनुसार विद्यालय तहमा कुल भर्नादर बढेको छ । शैक्षिक सत्र २०८२ मा आधारभूत तह (कक्षा १–८) को कुल भर्नादर १३६.२ प्रतिशत र माध्यमिक तह (कक्षा ९–१२) को कुल भर्नादर ८५.७ प्रतिशत पुगेको छ । गत शैक्षिक सत्रमा यस्तो भर्नादर क्रमशः १२४.८ प्रतिशत र ८०.६ प्रतिशत रहेको थियो ।

शैक्षिक सत्र २०८२ मा १०४ विद्यालय थप भई विद्यालय संख्या ३५ हजार ९५१ पुगेको छ । यसमध्ये सामुदायिक विद्यालयको हिस्सा ७१.२७, संस्थागत विद्यालयको २४.८७ र परम्परागत, धार्मिक विद्यालय ३.८६ प्रतिशत छ। तथ्यांकअनुसार सामुदायिक विद्यालयमध्ये १०० भन्दा कम विद्यार्थी भएका विद्यालय ५०.८५ प्रतिशत छन् । दुई हजारभन्दा कम विद्यार्थी भएका विद्यालय शून्य दशमलव ४७ प्रतिशत छन् ।

सहरी क्षेत्रमा बढ्दै गएको बसाइँसराइ र जन्मदरमा आएको कमीले ग्रामीण क्षेत्रमा विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको छ । विद्यार्थी संख्या न्यून भएका विद्यालयलाई नक्सांकन गरी समायोजन गर्दै लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय