काठमाडौं– सेयर बजारमा संगठित रूपमा चलखेल गरी अर्बौं ठगी गरेको र बैंकको ऋण व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको अभियोगमा देशका प्रतिष्ठित व्यवसायी, कर्मचारी, बीमा कम्पनीका पदाधिकारीहरूसहित ८१ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा दर्ता गरिएका छुट्टाछुट्टै अभियोग पत्रमा १ अर्ब ५६ करोड रुपैयाँ हाराहारी बिगो दाबी गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बिहीवार धितोपत्रसम्बन्धी ऐन २०६३ अन्तर्गत ८१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । उनीहरूमाथि १ अर्ब १४ करोड ८ लाख ६९ हजार ९३६ रुपैयाँ हानिनोक्सानी पु¥याएको अभियोग छ ।
मुख्य प्रतिवादीहरूमा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन अध्यक्ष सुलभ अग्रवाल र भृकुटी स्टक ब्रोकिङ (ब्रोकर ५५) का कार्यकारी अध्यक्ष सन्दीप चाचान अग्रवाल रहेका छन् ।
उनीहरूले ‘सर्कुलर ट्रेडिङ’ मार्फत नेपाल पुनर्बीमा कम्पनी, एनएलजी इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा कृत्रिम उतारचढाव ल्याई सर्वसाधारण लगानीकर्ता र संस्थाहरूलाई ठगी गरेको अनुसन्धानबाट खुलेको अभियोगपत्रमा छ ।
अनुसन्धानका क्रममा सुलभ अग्रवालको ‘शौर्य सिमेन्ट’ र ‘जगदम्बा स्टिल’को कार्यालयबाट प्रयोग गरिएको इन्टरनेटमार्फत शेयर कारोबार भएको बलियो प्रमाण भेटिएको अभियोगपत्रमा उल्लेख छ ।
यसै प्रकरणसँग जोडिएको अर्को मुद्दामा जगदम्बा स्टिल्सका सञ्चालकहरू र व्यवसायी दीपक भट्टविरुद्ध उच्च अदालत पाटनमा ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो दाबी गर्दै बैंकिङ कसुरको मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले दायर गरेको मुद्दाको अभियोगपत्र अनुसार जगदम्बा स्टिल्सले विभिन्न बैंकबाट कच्चा पदार्थ खरीदका लागि लिएको ‘वर्किङ क्यापिटल लोन’लाई नक्कली जग्गा खरीदको ‘बैना’ देखाएर दीपक भट्टको व्यक्तिगत खातामा पठाइएको र सो रकम हिमालयन रि–इन्स्योरेन्सको शेयर खरीदमा प्रयोग गरिएको अभियोगपत्रमा उल्लेख छ । यसमा साहिल अग्रवाल, सुलभ अग्रवाल, शंकरलाल अग्रवाल र दीपक भट्टलाई मुख्य अभियुक्त बनाइएको छ ।









