काठमाडौं– भारतको गुजरातस्थित टेक्सटाइल कम्पनी अजमेरा फेसन कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता ब्लक बुल गार्मेन्ट ट्रेडिङ प्रालिले अजमेरा फेसन डिजाइन एक्सिलेन्स अवार्ड २०२६ बाट सर्वाेत्कृष्ट तीनजनालाई नगदसहित पुरस्कृत गरेको छ । राजधानीमा एक समारोह आयोजना गरी दुईजनालाई प्रतिव्यक्ति एक–एक लाख र एकजनालाई २५ हजार नगदसहित तीन वटा छुटाछुटै विधाका सर्वाेत्कृष्टलाई नगद पुरस्कार दिएको कम्पनीले जनाएको छ ।
बेस्ट इन्गेजमेन्ट भिडियो, बेस्ट ब्रान्ड भिडियो र बेस्ट कन्सेप्ट एन्ड स्टोरी टेलिङका तीनवटा छुटाछुटै विधामध्ये बेस्ट इन्गेजमेन्ट भिडियोमा नमामी शाक्य र बेस्ट ब्रान्ड भिडियोमा प्रथा जोशी सर्वाेत्कृष्ट भइन् । उनीहरु दुवैले एक–एक लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । बेस्ट कन्सेप्ट एन्ड स्टोरी टेलिङमा सुभाना कायस्थ विजयी भएर २५ हजार नगद पाइन् ।
सर्वोत्कृष्ट सवैजनालाई अजमेरा फेसन लिमिटेड भारतका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजय अजमेराले नगद पुरस्कार वितरण गरे । उनी सोही कार्यक्रमका लागि भारतबाट नेपाल आएका थिए । महिलाहरूका लागि सारी, कुर्ता, लेहङा, साथै पुरुष र बालबालिकाका लागि सर्टिङ, सुटिङ लगायत सम्पूर्ण कपडा वस्तुहरू उक्त कम्पनीबाट उपलब्ध हुने जनाइएको छ ।
भारतमा १९९२ मा स्थापना भएको यो कम्पनीले एक लाखभन्दा बढी बिक्रेता भएकोले ३० भन्दा बढी देशमा आफनो व्यापार विस्तार गरिरहेको जनाएको छ । साथै १ अर्बभन्दा बढी ग्राहकको मन जितेको कम्पनीको दाबी छ । नेपालमा ठूलो सख्यामा ग्राहक रहे पनि विभिन्न रूपमा नेपाल समान भित्र्याउने तर आधिकारिता नभएकोले अजमेरा फेसनले नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त गरेको थियो, जसकी अध्यक्ष महिला उद्यमी मोतिना चन्द हुन् । चन्दले प्रिफ्याब प्यानल नेपाल, ब्लक बुल मल्टिपर्पोस (अलकत्रा आयात) र जेबी अटोमोटिभ जस्ता कम्पनीहरू कुशलतापूर्वक सञ्चालन गर्दै आइरहेकी छन् ।
अजमेरा फेसन मूल रूपमा भारतको एक प्रतिष्ठित टेक्सटाइल तथा कपडा निर्माता कम्पनी हो । यस ब्रान्डले नेपाल लगायत विश्वभर आफ्नो उत्पादन पु¥याउनुका साथै डिजिटल र व्यावसायिक उत्कृष्टतालाई जोड दिँदै यस्ता अवार्ड कार्यक्रमहरू प्रायोजन र समर्थन गर्ने गर्दछ ।
नेपालमा डिजिटल क्रिएटर र अनलाइन व्यवसायको क्षेत्रमा अजमेरा फेसन डिजिटल एक्सिलेन्स अवार्ड एक प्रमुख आयोजना हो । यो अवार्ड समारोहले डिजिटल प्लेटफर्ममार्फत उत्कृष्ट योगदान दिने व्यक्ति, क्रिएटर तथा व्यवसायीहरूलाई सम्मान गर्ने गर्दछ । यसको मुख्य उद्देश्य डिजिटल माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्ने, सिर्जनात्मक क्षमता देखाउने क्रिएटरहरूलाई प्रोत्साहन गर्नु र डिजिटल बजारीकरणलाई टेवा पु¥याउनु रहेको कार्यक्रममा जनाइयो । यसमा फेसन, प्रविधि, मनोरञ्जन, जीवनशैली, खाना, यात्रा, फिटनेस र वित्त (फाइनान्स) जस्ता विभिन्न विधाका उत्कृष्ट क्रिएटरहरू समेटिने गर्दछन ।









