काठमाडौं– कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा विभागले बताएको छ ।

विभागका महानिर्देशक डा उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए । ‘कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ । तर बर्डफ्लु संक्रमित कागलाई नियन्त्रणमा लिन सकिदैन,’ उनले भने, ‘सदर चिडियाखानालगायत धेरे ठाउँमा कागले संक्रमण सारेको छ ।’

महानिर्देशक डा दाहाल संक्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँ सार्ने गरेको बताउँछन् । कागमा देखिएको संक्रमण २१ दिनसम्म रहने भएकाले धेरै नै बर्डफ्लु रोग सार्न सक्ने उनको भनाइ छ । ‘काग मरेपछि कहाँ मरेको भन्ने थाहा हुँदैन । अनि त्यही मरेको कागले बर्डफ्लु सार्ने गरेको छ । कागको सुलिले पनि धेरै नै बर्डफ्लु सार्ने गर्छ,’ उनले भने ।

हाल काठमाडौं उपत्यकाका तीनै जिल्लामा बर्डफ्लु देखिएको छ । उनका अनुसार अहिले देशभर ११ जिल्लाका १०० ठाउँमा बर्डफ्लुको संक्रमण देखिएको छ ।

महानिर्देशक डा दाहालले उपत्यकामा कीर्तिपुर र कागेश्वरी मनहरा बाहेक सबै ठाउँमा बर्डफ्लु नियन्त्रण लिइसकेको छ । बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको एक संक्रामक रोग हो । उनले उपत्यकामा कागमा बर्डफ्लु देखिएपछि विशेष सावधानी अपनाउन आग्रह गरिएको बताए ।

विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखिएको ठाउँमा संघ, प्रदेश र स्थानीय तहको समन्वयमा बर्डफ्लु रोग नियन्त्रण अभियान सञ्चालन गरिँदै आइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर