काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ र डेभलपमेन्ट बैंकर्स एसोसिएसनबीच वित्तीय कर्जा लगायत सेवा प्रवाहमा सहजीकरण गर्ने सहमति भएको छ । यस्तो सहयोग लघु, घरेलु, साना तथा मझौला उद्यमका लागि दिइने छ ।

सहमतिमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरे ।

समझदारी अनुसार एसोसिएसनका सदस्य विकास बैंकलाई लघु, घरेलु साना तथा मझौला उद्योगको माग अनुसार सरल एवं सहज रूपमा कर्जा प्रवाह गर्न सहजीकरण गर्ने, व्यवसायीलाई कर्जा शिक्षा, बचत र लगानीका फाइदा, कर्जा प्रक्रिया, कर तथा बजार व्यवस्थापनसम्बन्धी जानकारी दिन कार्यक्रम सञ्चालन गर्ने, उत्पादनमूलक व्यवसाय र रोजगारी सिर्जना गर्ने व्यवसाय प्रवद्र्धनका लागि सहयोग पुग्ने किसिमका कार्यक्रम सञ्चालन गर्ने, उपयुक्त वित्तीय सेवाहरूको छनोट र प्रयोग गर्न सक्ने क्षमता विकास गराउने र भविष्यमा आउन सक्ने जोखिमका लागि तयारी वा योजना बनाउन सक्ने ज्ञान र सीप प्रदान गर्ने, कृषि कर्जा, महिला उद्यमी कर्जा, लघु, घरेलु, साना तथा मझौला उद्योगलाई प्रवाह गरिने कर्जालाई प्राथमिकतामा राखी प्रविधिमैत्री बनाउने र त्यसका लागि उचित तालिमको व्यवस्था मिलाइने छ ।

महासंघ उपाध्यक्ष श्रेष्ठले एसएमइजले विशेष गरी ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले सम्बोधन गर्ने विश्वास व्यक्त गरे । मुलुकभित्रको कुल रोजगारीमा करिब ९५ प्रतिशत योगदान एसएमइजहरूकै भएकाले यो समझदारीले एसमएमइजहरू फस्टाउन विशेष सहयोग पुग्ने बताए ।

महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डिबी वस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहत महसुस गर्ने र यो सहकार्य मुलुकभित्र एसएमइजको विकासमा कोशेढुंगा हुने विश्वास प्रकट गरे ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष गोविन्दप्रसाद ढकालले लघु, घरेलु साना तथा मझौला व्यवसायको प्रवर्द्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायत सेवा प्रवाहमा सहजीकरण गराउने उद्देश्यले डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र महासंघबीचको सहकार्यलाई परिणाममुखी बनाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय