काठमाडौं– ललितपुरको इमाडोलमा सार्वजनिक स्थलमा एउटी महिलालाई गोप्य अंग प्रदर्शन गर्ने व्यक्ति रक्षा मन्त्रालयका अधिकारी रहेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।
सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कार्यरत शिक्षा अधिकृतलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। ललितपुर जिल्ला प्रहरी परिसर मातहतको प्रहरी वृत्त सातदोबाटोको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पीडित महिलाले भट्टले सार्वजनिक स्थलमा गरेको सो आपत्तिजनक हर्कतको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्। भिडियो भाइरल भएलगत्तै एक्सनमा उत्रिएको प्रहरी टोलीले भट्टको पहिचान गरी उनलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका भट्ट रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका भट्टलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखी मुलुकी अपराध संहिता बमोजिम कानुनी प्रक्रिया अघि बढाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









