काठमाडौं– त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने भनिए पनि चिकित्सकहरुले अवस्था स्थिर नहुन्जेल नलैजान सुझाएका छन् । सरकारले घाइते नेपालीको थप उपचारका लागि नयाँदिल्लीस्थित एम्स अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरे पनि चिकित्सकको सल्लाहअनुसार त्यसतर्फ लैजान नसकिएको स्पष्ट गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथ अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भारत लगी उपचार गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको अवस्थामा जलन पीडित नेपालीको स्वास्थ्य प्रतिकुल भएकाले तत्काल अन्यत्र लैजान नमिल्ने भन्ने सुझाव सम्बद्ध चिकित्सकबाट आएपछि नयाँदिल्ली लैजान नसकिएको हो ।
यसका लागि गृहमन्त्री सुदन गुरुङ स्वयं खटिएका थिए। सरकारले नेपालीलाई भारत लैजान एयर एम्बुलेन्सको व्यवस्था गरेको थियो । त्यसअघि नेपालीको उपचारको सम्पूर्ण खर्च सरकारी कोषबाट बेहोर्ने निर्णय समेत गरिएको थियो ।
वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’मा ‘भेन्टिलेटरमा रहेका नेपालीको उपचार जारी रहेको र यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उनलाई तत्काल भारत नलग्ने भएको हो ।
चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै थप उपचार गर्न भारत लैजान सुझाव दिएका छन् ।
गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहका सचिवालयका सदस्यहरू वीर अस्पतालमै गएरातिदेखि निरन्तर खटिएका छन्।
बिहीबार दिउँसो ३ः०० बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ५५ प्रतिशत जलेको जनाइएको छ ।
वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा पियुष दाहालका नेतृत्वमा युनिट प्रमुख डा अपार लामिछाने, क्रिटिकल केयरका डा निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा डा रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली नेपालीको उपचारमा सम्लग्न छ ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न सम्बन्धित यातायात कार्यालयमा जानुपर्छ कि जहाँसुकैबाट हुन्छ ।









