काठमाडौं– नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्दै होन्डाका पुराना मोडेलहरूको एयर ब्यागमा एसआरएस एयरब्याग इन्फ्लेटर देखिन सक्ने सम्भावित जोखिमलाई समाधान गर्न निःशुल्क सेफ्टी रिकल अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

यस अभियानबाट सन् २००१ देखि २०१४ सम्म निर्मित होन्डा कारका विभिन्न मोडेलहरू प्रभावित भएको कम्पनीले जनाएको छ, जसमा सिटी, सिभिक, सिआर–भी, ज्याज, इन्साइट, स्ट्रिम र अकर्ड कारहरू पर्दछन् । ग्राहकले आफ्नो गाडी यस रिकल अभियानमा पर्छ, पर्दैन भनेर होन्डाको आधिकारिक वेबसाइटमा गएर आफैं पनि जाँच गर्न सक्ने बताइएको छ ।

उक्त अभियानअन्तर्गत प्रभावित गाडीहरूको एयरब्याग जाँच र आवश्यक मर्मत वा इन्फ्लेटर परिवर्तन पूर्ण रूपमा निःशुल्क गरिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यसका लागि ग्राहकले कुनै पनि शुल्क तिर्नु पर्ने छैन ।

सम्भावित जोखिमबाट बच्न र सुरक्षित यात्रा सुनिश्चित गर्न ग्राहकहरूलाई आफ्नो नजिकको होन्डाका आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी गाडीको एयरब्याग जाँच गराउन कम्पनीले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय