काठमाडौं– सानिमा क्यापिटलको कम्प्लायन्स मेनेजर रश्मि रिजालको शव तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा फेला परेको छ ।
तारकेश्वर नगरपालिका–९, शुभकामना चोक बस्ने ४५ वर्षीय रिजालको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिएका छन् ।
उनी शुक्रबार कार्यालय जान्छु भनी घरबाट हिँडेको र कार्यालय नपुगी बेपत्ता भएको भन्दै परिवारका सदस्यले हिजै खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।
उनको खोजी गर्दै जाँदा आज कारको पछाडिको सिटमा जलेको अवस्थामा शव फेला परेको घिमिरेले जानकारी दिए । कारको भित्री भाग अधिकांश जलेको र निस्सासिएर निजको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।









