काठमाडौं– एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२–८३ को वितरण योग्य नाफा प्रतिसेयर ९ रुपैयाँ ८ पैसा कायम भएको छ । बैंकको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्ष यसको खुद नाफा ४०.६० प्रतिशतले बढेर ४ अर्ब १ करोड रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत वर्ष बैंकको सञ्चालन नाफा २९.०६ प्रतिशतले बढेर ६ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ ।
नियामकीय समायोजन र अघिल्लो वर्षको सञ्चित नाफा समायोजनपश्चात् बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने साधारण सेयरधनीका लागि प्रतिसेयर वितरणयोग्य नाफा ९ रुपैयाँ ८ पैसा कायम भएको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ १५ पैसा पुगेको छ । बैंकको चुक्ता पुँजी २२ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा १५ अर्ब ७७ करोड रुपैयाँ सञ्चित छ ।
गत असार सम्ममा यो बैंकमा ग्राहकको निक्षेप ३ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ र प्रवाहित कर्जा २ खर्ब ४९ अर्ब ७५ लाख रुपैयाँ पुगेको छ ।
यससँगै बैंकको कुल सम्पत्ति ३ खर्ब ५१ अर्ब ५९ करोडबाट बढेर ३ खर्ब ९७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । यसको निष्क्रिय कर्जा भने ४.११ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ ।









