काठमाडौं– सूचना चुहाएको आरोपमा धितोपत्र बोर्डको छानबिनमा परेको अजोड इन्स्योरेन्स कम्पनीलाई बिमा क्षेत्रको नियामक निकाय बिमा समितिबाट पनि धक्का लागेको छ ।

समितिले अजोडलाई हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव स्थगन गर्न निर्देशन दिएको हो । अजोडले बिमा समितिबाट अनुमति नै नलिई आगामी साधारणसभामा हकप्रद सेयर निष्कासनको प्रस्तावमाथि समेत छलफल गर्ने तयारी गर्दै सूचना निकालेको थियो । साधारणसभामा छलफल हुने विषयबाट हकप्रद सेयर निष्कासनसम्बन्धी बुँदा हटाउन अजोडलाई निर्देशन दिइएको बिमा समितिको भनाइ छ ।

कम्पनीले आगामी वैशाख ७ गतेका लागि बोलाएको वार्षिक साधारणसभाको छलफल गर्ने विषयमा ५० प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव छ ।

अजोडले हकप्रद सेयर निष्कासनको सूचना चुहाएको विषयमा धितोपत्र बोर्डले समेत एक उपसमिति गठन गरी सोमबारबाट छानबिन थालेको छ । कम्पनीले नियामक निकाय धितोपत्र बोर्ड र दोस्रो बजार नेप्सेलाई जानकारी नै नगराई हकप्रद जारी गर्ने सूचना चुहाएको भन्दै धितोपत्र बोर्डमा गुनासो परेपछि बोर्डले छानबिन थालेको हो ।

चैत १६ गते उक्त कम्पनीको सेयर मूल्य एक्कासि बढेर सर्किट लगाउनुपर्ने अवस्था आएपछि उसले सूचना चुहाएको आशंका गर्दै विभिन्न सञ्चार माध्यममा रिपोर्टहरु प्रकाशित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय