काठमाडौं– विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका हुन् ।
देशका विभिन्न भागबाट संघीय राजधानी काठमाडौं जोड्ने राजमार्ग बन्द हुँदा जनजीवनमा भने समस्या बढ्दै गएको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाडौं जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक बस काठमाडौंमै रोकिएको जानकारी दिए ।
उनका अनुसार हाल पृथ्वी राजमार्ग र बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । काठमाडौंबाट हेटौंडा जाने फर्पिङको बाटो भने सञ्चालन भएकाले साना सवारीसाधन आवतजावत भइरहेको प्रवक्ता सुवेदीले बताए ।
नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लले बिहीबार साँझदेखि गोंगबुस्थित नयाँबसपार्कमा सार्वजनिक यातायात रोकिएको जानकारी दिए ।
‘देशका विभिन्न भागबाट काठमाडौं जोड्ने राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध हुँदा अधिकांश सवारीसाधन नयाँबसपार्कमा रोकिएका छन्,’ उनले भने ।
यस्तै, बिहीबार बिहानैदेखि मुलुकको संघीय राजधानी काठमाडौं उपत्यकामा अविरल वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौं उपत्यका भित्रका नदी क्रमशः बढ्न थालेका छन् । नदी बढेसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नदीका करिडोरमा सवारी नरोक्न तथा पार्किङ नगर्न भन्दै माइकिङ गरेको छ ।
यसैगरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि भारी वर्षा हुने र राजमार्गमा पहिरो जानसक्ने भन्दै आवश्यक ध्यान दिन सवारी चालकलाई आग्रह गरेको छ ।
महासंघका महासचिव डेकनाथ गौतमले वर्षाका कारण राजमार्ग अवरुद्ध हुनसक्ने भन्दै सुरक्षा निकायसँग समन्वय गरेर आवतजावत गर्न सम्पूर्ण व्यवसायी तथा चालकलाई आग्रह गरे ।
असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने भन्दै सचेत रहन आम जनतालाई विभिन्न निकायले अपिल गरिरहेका छन् ।









