तेहरान– इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गरी होर्मुज जलमार्ग खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः सुरु गर्न अमेरिकासमक्ष सातदिने योजना प्रस्ताव गरेको छ । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा मध्यस्थकर्तामार्फत अमेरिकी पक्षसमक्ष प्रस्ताव पठाइएको बताएका छन् ।

अराघचीका अनुसार केही सर्त पूरा भए सातौं दिनको अन्त्यसम्म हर्मुज जलघाँटी खुला गरिने र त्यसपछि आणविक कार्यक्रमबारे विस्तृत वार्ता पुनः सुरु हुनेछ । उनले प्रस्ताव यसै वर्षको जुनमा अमेरिका र इरानबीच भएको समझदारीको ढाँचासँग मिल्दोजुल्दो रहेको बताउँदै अमेरिकी मध्यावधि निर्वाचनअघि नै सम्झौता भए राम्रो हुने धारणा व्यक्त गरे ।

जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलसँगको भेटमा अराघचीले कूटनीतिक प्रक्रिया अघि बढाउन इरानले अमेरिकी पक्षसमक्ष आफ्ना सर्त र आवश्यकता स्पष्ट गरिसकेको बताए । क्षेत्रीय सुरक्षा पुनःस्थापित गर्न अमेरिकी सैन्य हस्तक्षेप अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

इरान आफ्नो शान्तिपूर्ण आणविक कार्यक्रमका विषयमा कूटनीतिक समाधान खोज्न प्रतिबद्ध रहेको बताउँदै उनले वार्ताका क्रममा इरानले देखाएको सद्भाव तथा अमेरिका र इजरायलबाट भएका सैन्य आक्रमणलाई बेवास्ता गर्न नसकिने उल्लेख गरे । उनेले होर्मुज जलघाँटीमा उत्पन्न असुरक्षाका लागि इरानलाई मात्र जिम्मेवार देखाउने प्रयासको पनि आलोचना गरे ।

अराघचीले अमेरिका र केही युरोपेली मुलुकले अन्तर्राष्ट्रिय कानून उल्लंघन तथा एकपक्षीय दबाबलाई बेवास्ता गरेको आरोप लगाउँदै संयुक्त राष्ट्रसंघप्रति विश्वास पुनःस्थापित गर्न सबै देशले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनका सिद्धान्त पालना गर्नुपर्ने बताए ।

यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले ‘फक्स न्युज’सँगको अन्तर्वार्तामा जुनमा अमेरिका र इरानबीच भएको समझदारी कार्यान्वयन हुन नसक्नुमा अमेरिकी पक्ष जिम्मेवार रहेको आरोप लगाएका छन् । उनले इरानले होर्मुज जलमार्ग बन्द नगरेको र संवादमार्फत समाधान खोज्न आफूहरू अझै तयार रहेको बताए ।

यसअघि इरानले अमेरिकी सैन्य दबाब घटाइए तथा इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाइए सात दिनभित्र हर्मुज जलमार्ग पुनः खोल्न सकिने जनाएको थियो । इरानी अधिकारीहरूले सेप्टेम्बर १६ मा मध्यस्थकर्तामार्फत प्रस्ताव पठाइएको बताएका छन् ।

विश्वको महत्त्वपूर्ण ऊर्जा तथा सामुद्रिक व्यापार मार्गका रूपमा रहेको हर्मुज जलमार्गमा देखिएको अवरोधले क्षेत्रीय द्वन्द्वसँगै विश्वव्यापी ऊर्जा आपूर्तिमा समेत असर पार्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय