महेन्द्रनगर– दोधारा–चाँदनी नदीको झोलुंगे पुलको एउटा पिल्लर भाँचिएको छ । कञ्चनपुरको महाकाली नदीमा अवस्थित उक्त पिल्लरको पुल आज बिहान भाँचिएको हो ।
भीमदत्तनगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने पुलको एउटा पिल्लर भाँच्चिएपछि आवगमन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए। पुलको करिब ६ मिटर भाग मर्मत गर्नुपर्ने भएको छ । आवागमन रोकिएपछि आवत जावतमा समस्या भएको छ ।
‘झोलुंगे पुलको दोधारातर्फको पाँचरछ मिटरबीचको भाग माथि उठी आवतजावतमा समस्या भएको र उक्त झोलुंगे पुलको पिल्लर भाँचिन गई बाटो अवरोध भएको छ,’ उनले भने ।
प्रवक्ता रावतले भने, ‘सो क्षेत्रमा अहिले प्रहरी टोली परिचालन भएको छ ।’ दुईदशकअघि बनेको झोलुङ्गे पुल बनेपछि दोधारा–चाँदनी भौगोलिक रुपले मुलुकको मुलधारसित जोडिएको थियो । भीमदत्तनगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले प्राविधिक टोली आएर पुलको निरीक्षण गर्ने बताए ।
‘आज बिहान पानीको बेगले पिल्लर भत्किएको थियो,’ उनले भने, ‘पिल्लर भत्किएपछि आवागमन रोकिएको छ ।’









