काठमाडौं– भदौ १० को विनाशकारी बाढीबाट क्षतिग्रस्त भोटेकोशी–त्रिशूली करिडोरका जलविद्युत् आयोजना पुनःनिर्माण गर्न ३ खर्ब ९० अर्ब रुपैयाँसम्म खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले प्रारम्भिक अनुमानमा बाढीबाट प्रभावित ऊर्जा संरचनाको लगानी मूल्य करिब १ खर्ब २४ अर्ब रुपैयाँ रहे पनि पुनर्निर्माणका क्रममा संरचनागत परिवर्तन, मूल्यवृद्धि तथा नदीको सतह बढेकाले ३ खर्ब ९० अर्ब रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको जानकारी दिए ।
‘भोटेकोशी–त्रिशूली बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीका कारण करिब ४३० मेगावाट विद्युत् उत्पादन क्षमताका आयोजना सेवाबाट बाहिरिएका छन्,’ उनले भने, ‘नेपालको हालको जडित विद्युत् क्षमता करिब ३ हजार ३०० मेगावाट छ । बाढीबाट बाहिरिएको विद्युत् क्षमता कुल जडित क्षमताको करिब १० प्रतिशत छ ।’
निर्माणाधीनमध्ये ७५९ मेगावाट क्षमताका आयोजना प्रभावित भएको उनले बताए । चिलिमे तथा त्रिशूली थ्रीबी हब सबस्टेसन पूर्ण रूपमा बाढीले बगाउँदा विद्युत् प्रसारणमा समस्या भएको सहसचिव आचार्यको भनाइ छ । ‘प्लान्टमा क्षति नपुगे पनि ‘हब’ स्टेसन नै बगेका कारण उत्पादन भएको करिब १७६ मेगावाट विद्युत् अहिले स्थानान्तरण गर्न सकिएको छैन,’ उनले भने ।









