काठमाडौं– नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ ।

आयोजनाले आज सार्वजनिक सूचना जारी गरेर सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णयअनुसार यही कात्तिक १५ गतेदेखि टोल शुल्क उठाउन लागेको हो ।

सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी नागढुंगा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्क निर्धारण गरेको थियो ।

सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ । कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौं प्रवेश गर्दा रु ६५ र सोही वर्गका सवारीसाधन काठमाडौंबाट प्रस्थान गर्दा ६० रुपैयाँ शुल्क तोकिएको छ ।

मिनीबस, मिनी टिपर, ट्रकका लागि काठमाडौं प्रवेश गर्दा १२५ र काठमाडौंबाट प्रस्थान गर्दा ८० रुपैयाँ दस्तुर तोकिएको छ ।

बस, ट्रक (सिंगल रियर एक्सल) सवारीको लागि काठमाडौं प्रवेश गर्दा २६० र काठमाडौंबाट प्रस्थान गर्दा २०० रुपैयाँ दस्तुर तोकिएको छ ।

मल्टिएक्सल ट्रक, सवारीसाधन, भारी उपकरणको लागि काठमाडौं प्रवेश गर्दा ६०० र काठमाडौंबाट प्रस्थान गर्दा २५० रुपैयाँ दस्तुर तोकिएको छ ।

यो सुरुङमार्ग गत साउन ११ गते उद्घाटन भएको थियो । त्यसयता परीक्षणका रूपमा सवारीसाधन गुडिरहेका छन् । दुईपांग्रे साधनलाई सुरुङमार्गमा प्रवेश अनुमति छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय