काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंघलादेशलाई अतिकम विकसित मुलुक (एलडिसी) को सूचीबाट विकासशीलमा स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

बिहीबार सम्पन्न संयुक्त राष्ट्रसंघको ८१औं महासभा बैठकले उक्त निर्णय गरेको हो । संयुक्त राष्ट्रसंघका लागि न्युयोर्कस्थित नेपाली स्थायी नियोगका अनुसार नेपालले अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुनुअघि आवश्यक संरचनात्मक तथा संस्थागत सुधारलाई अझ प्रभावकारी रूपमा अघि बढाउन अतिरिक्त समय प्राप्त गरेको छ ।

नेपालले यस अवधिमा उत्पादन क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा आर्थिक र सामाजिक रूपान्तरणका लागि उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । महासभाबाट प्राप्त अतिरिक्त समयले नेपाललाई अति कम विकसित मुलुकको सूचीबाट सहज, दिगो र अपरिवर्तनीय रूपमा स्तरोन्नति हुने लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास छ ।

यसअघिको समयसीमा अनुसार नेपाल यही २०२६ को नोभेम्बरमा विकासशीलमा स्तरोन्नति हुनुपर्ने थियो । विकासशीलमा स्तरोन्नति भएपछि मुलुकको स्तर बढ्ने भए पनि अतिकम विकसित मुलुकको रुपमा दाताहरुबाट पाउँदै आएको सुविधा घट्ने तथा विकसित मुलुकहरुले दिइरहेको सहुलियतका सुविधा पनि नपाउने चिन्ता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय