काठमाडौं– कोरोना भाइरस महामारीका कारण नेपालमा गरिबी ४ प्रतिशतले बढेको राष्ट्रिय योजना आयोगको एक अध्ययनले देखाएको छ । यसको अर्थ थप १२ लाख जनसंख्या गरिबीको रेखामुनि धकेलिएका छन् ।

कोभिडले २०७९ सम्म अतिकम विकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य समेत प्रभावित हुने आयोगले गरेको अध्ययनले देखाएको छ ।

कोरोनाले प्रतिव्यक्ति आम्दानीमा पनि धक्का लागेको राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आर्थिक वर्ष २०७६–७७ मा नेपालीको प्रतिव्यक्ति आम्दानी एक हजार ६७ अमेरिकी डलरमा सीमित भएको विज्ञप्तिमा उल्लेख छ ।

आव २०७५–७६ मो प्रतिव्यक्ति आम्दानी एक हजार ३९ अमेरिकी डलर थियो । सरकारले यो वर्ष प्रतिव्यक्ति आय एक हजार ८५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको थियो ।

कोरोना महामारीमा सर्वसाधारण महँगीको मारमा भने पर्न नपाएको प्रतिवेदनले देखाएको छ । यस्तो बेला बजारमा माग कम भएको र तीनवटै तहका सरकारले आपूर्ति व्यवस्थापन प्रभावित नहुने गरी काम गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, अध्ययनमा आव २०७६–७७ को आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा सीमित हुने उल्लेख छ । अध्ययनले चालु आर्थिक वर्षमा समेत अर्थतन्त्र प्रभावित हुने प्रक्षेपण गरेको छ । संक्रमण लामो समय रहेमा आर्थिक वृद्धि ३.८ प्रतिशतमा झर्न सक्ने औंल्याइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय