काठमाडौं– बी एन्ड सी मेडिकल कलेजले सम्बन्धन नदिए सरकारलाई नै कलेज बुझाउने भएको छ । कलेजका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले शनिबार पत्रकार सम्मेलन गर्दै कलेज सञ्चालनका लागि सम्बन्धन माग गरे पनि नदिएपछि सरकारलाई सञ्चालनको जिम्मा दिने बताए ।
‘कि कलेजको सञ्चालनको लागि अनुमति देऊ, यदि अनुमति नदिने हो भने सरकारले कलेज आफैं चलाओस्,’ उनले भने, ‘भौतिक संरचना सहित बनेको कलेजलाई त्यतिकै बेवारिसे नराखियोस् ।’
उनले सरकारले सञ्चालन नगर्ने हो भने आफूले सधैंका लागि कलेज बन्द गर्ने बताए । झापाको अनारमनी–३ मा अवस्थित कलेजले सम्बन्धन नपाउँदा कलेज सञ्चालन हुन सकेको छैन । गत वैशाखमा बसेको काठमाडौं विश्वविद्यालयको ८९औं सभाले चिकित्सा शिक्षा आयोगलाई कलेजको सम्बन्धनका सम्बन्धमा आवश्यक अध्ययन गरी प्रतिवेदन बुझाउन समेत निर्णय गरेको थियो ।
कार्यकारी निर्देशक प्रसाईले आयोगको टोलीले तयार पारेको प्रतिवेदन नबुझाउँदा सम्बन्धनमा ढिलाइ भइरहेको बताए । सभाले सात दिनभित्र कलेज सञ्चालनका सम्बन्धमा प्रवितेदन पेस गर्ने गरी डा प्रकाशराज पाण्डेको संयोजकत्वमा चार सदस्यीय अध्ययन तथा अनुगमन टोली गठन गरेको थियो । उनले कलेज सञ्चालनका लागि आफूले सबै प्रक्रिया पूरा गरिसकेकोले सम्बन्धन दिनुपर्ने माग राखे ।
कोरोना महामारीमा स्वस्थ्यकर्मी अभाव भइरहेकोले बेला कलेजले सम्बन्धन पाए दक्ष जनशक्ति उत्पादन हुने उनको भनाइ छ । एमबिबिएस सञ्चालनका लागि कलेजले करिब आठ वर्षअघि भौतिक पूर्वाधार तयार पारे पनि सरकारले अझै सम्बन्धन दिएको छैन । उनले कलेज सञ्चालनका लागि करिब सात अर्ब रुपियाँ खर्च गरिएको जानकारी दिए ।









