काठमाडौं– कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाले पठाएको खोप नेपाल आइपुगेको छ । सोमबार विहान कतार एयरवेजमार्फत नेपाल आइपुगेको उक्त खोप नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीलाई राजदूत बेरीले खोप हस्तान्तरण गरे । उक्त खोप सोमबार बिहान पौने १० बजे कतार एयरवेजमार्फत नेपाल आइपुगेको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले खोपले नेपाली जनतालाई कोरोना भाइरसबाट बचाउन सहयोग मिल्ने बताए । प्रधानमन्त्रीका अनुसार उपलब्ध गराइएको खोप प्राथमिकता अनुसार ५० देखि ५४ वर्ष उमेर समूहका सर्वसाधारणलाई निःशुल्क दिइने छ । प्रधानमन्त्री ओलीले कोभिड–१९ संक्रमणपछि मुलुक आर्थिक समृद्धिमा लाग्ने बताए ।

कार्यक्रममा राजदूत बेरीले खोपबाट नेपाली जनतालाई संक्रमणबाट जोगाउने सकिने बताए । उनले कोभिड–१९ को लडाइँमा अमेरिकी सरकारले नेपाललाई सहयोग पुर्याउँदै आएको जनाउँदै महामारीविरुद्धको लडाइँमा सबै एक जुट हुनुपर्ने बताए ।

अमेरिकी सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि भेन्टिलेटर, मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको थियो । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रा सहितको जोन्सन एन्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको हो ।

सो खोप एकपटक लगाए पुग्छ । यसअघि कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप आइसकेको छ । नेपालमा अहिलेसम्म भारतबाट कोभिशिल्ड र चीनबाट भेरोसेल खोप आइसकेको छ । नेपाललाई हालसम्म ६० लाख मात्रा खोप प्राप्त भएको छ । खोप हस्तान्तरण कार्यक्रममा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय