काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान मंगलबारबाटै सुरु हुने भएको छ । चीनको भेरोसेल र कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप आइपुगेलगत्तै सरकारले ७७ वटै जिल्लामा खोप अभियान थप खोप अभियान सुरु गर्न लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सूचना प्रकाशित गरी असार २९ गतेबाट खोप अभियान सञ्चालन हुने जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार चीनबाट आएको भेरोसेल खोप ५५ वर्षभन्दा माथि उमेर समूहका पहिलो मात्र खोप लगाउन बाँकी सबै नागरिकलाई दिइनेछ । त्यसैगरी विश्वविद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु र खोप अनिवार्य गरेका देशमा जाने नेपालीलाई लगाइने छ ।
एक मात्रा मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेरसमूहका कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी सबै नागरिकलाई दिइनेछ । पूर्ण र अति अशक्त अपांगता वर्ग क र खका नागरिकलाई पनि अमेरिकी खोप दिने योजना छ । नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीलाई पनि अमेरिकी खोप दिइने छ ।










