विराटनगर– उद्योग संगठन मोरङले नविन व्यावसायिक सोच विचार तथा अवधारणा भएका युवालाई उद्यमशील बनाउन आवश्यक प्राविधिक एवं व्यावसायिक विकास सेवाहरु, वित्तीय एवं अन्य लगानीको पहुँचका लागि सहजीकरण तथा समन्वय गरी नयाँ व्यवसाय सिर्जना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले बिहीबार पत्रकार सम्मेलन गरी स्टार्टअप एन्ड इनोभेसन कार्यक्रम सुरु गरेको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै संगठनका अध्यक्ष सुयश प्याकुरेलले युवाहरुको नविनतम सोच र अवधारणालाई व्यवसायमा परिणत गर्दै व्यावसायिक क्षेत्रको इकोसिस्टम विकास गर्ने अभिप्रायका साथ संगठनले महत्त्वाकांक्षी योजनाका रुपमा स्र्टाटअप तथा इनोभेसन कार्यक्रम सुरु गरेको बताए ।

उनले सञ्चालनमा रहेका उद्योग, व्यवसाय प्रवर्द्धनका साथै नयाँ उद्यमीको विकास गर्नुपर्ने सामाजिक उत्तरदायित्व समेत संगठनको रहेको भन्दै यस कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमका सम्बन्धमा थप प्रकाश पार्दै स्र्टाटअप एन्ड इनोभेसन समितिका संयोजक सुरेन्द्र गोल्छाले १८ महिना अवधि रहने कार्यक्रममा प्रदेश नं १ भित्रका नविन व्यावसायिक अवधारणा भएका तथा स्तरोन्नतिको सम्भावना भएका बढीमा वर्षदेखि सञ्चालनमा रहेका सुरुआती अवस्थाका नविन उद्यमहरु सहभागी हुन सक्ने बताए ।

उनले कार्यक्रमले नविन व्यावसायिक अवधारणा, स्तरोन्नति तथा अनुशरण गर्ने सम्भावना भएका, चालु उद्योग व्यवसायको अग्र वा पृष्ठ सम्बन्ध कायम हुने वा हुन सक्ने सम्भावना भएका, स्थानीय कच्चा पदार्थमा अधारित र कृषि तथा कृषिजन्य व्यवसायको शृंखलाभित्र पर्ने उद्यम, व्यवसायलाई विशेष ग्राह्यता दिने गरी प्राथमिकता निर्धारण गरेको जानकारी दिए ।

नमुना कार्यक्रमका रुपमा कार्यान्वयन गरिन लागेको यो कार्यक्रममा पहिलो चरणमा २० वटा स्टार्टअप व्यवसायको छनोट गरी निःशुल्क सेवा उपलब्ध गराइने छ । कार्यक्रम अन्तर्गत छानिएका स्टार्टअप व्यवसायलाई व्यावसायिक योजना तर्जुमा, वित्तीय व्यवस्थापन, व्यवसाय दर्ता, कानुनी परामर्श, प्रशासनिक परामर्श, वजार व्यवस्थापन तथा ब्रान्डिङ, लेखा व्यवस्थापन, कर प्रशासन, मानव संसाधन तथा जिन्सी व्यवस्थापन लगायत व्यवस्थापकीय विषयका साथै व्यावसायिक योजना अनुरुप आवश्यक पर्ने प्राविधिक विषयमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, उद्योगी व्यवसायी, लगानीकर्ता र वितरकसँग नेटवर्क तथा सञ्जालीकरण, वित्तीय पहुँचका लागि लगानीकर्ता, बैंक तथा वित्तीय संस्थासँग समन्वय एवं सहजीकरण र बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी विषयमा परामर्श सेवा उपलब्ध गराइने संगठनको विज्ञप्तिमा उल्लेख छ ।

यसका अलावा छानिएका स्टार्टअपहरुको व्यवसायको प्रकृति अनुसार अनुसन्धान तथा प्रयोगशाला परीक्षणका लागि विश्वविद्यालय, प्राविधिक शिक्षालय, सरकारी वा गैरसरकारी क्षेत्र, तथा निजी क्षेत्रका प्रयोगशाला, अनुसन्धानशाला वा परीक्षण केन्द्रहरुसँग समन्वय गरी सेवा उपलब्धताका लागि सहजीकरण गरिने बताइएको छ । यसका लागि पूर्वाञ्चल विश्वविद्यालय, मनमोहन प्राविधिक विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, राष्ट्रिय आविस्कार केन्द्र, अन्तरप्रेरणा प्रालि लगायत संस्थासँग सहकार्य गरिएको छ । बैंक तथा वित्तीय संस्थाबाट नबिल बैंक लिमिटेडसँग साझेदारी गरिएको छ । नबिल बैंक लिमिटेडले हालै सुरु गरेको दिगो बैंकिङ कार्यक्रमका माध्यमबाट स्टार्टअप व्यवसाय र उद्यमीलाई कर्जा प्रवाहमा मद्दत गर्ने बताइएको छ ।

स्टार्टअप व्यवसायको प्रवर्द्धन र विकासका लागि सरकार, अनुसन्धानमुलक संस्थाहरु एवं निजी क्षेत्रबीच समन्वय गरी प्रदेश नं १ को नमुनाको रुपमा व्यवसाय विकासका व्यवस्थापकीय एवं प्राविधिक सेवाको दिगो इकोसिष्टमको जग बसाल्ने लक्ष्यसाथ सुरु गरिएको यो कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, स्थानीय सरकार बिराटनगर महानगरपालिकासँग सहकार्यको प्रक्रिया अघि बढिसकेको छ । कार्यक्रमको तयारीका क्रममा विभिन्न सरोकारवाला पक्ष, साझेदार संस्था, मेन्टर तथा परामर्शदाता, बैंक तथा वित्तीय क्षेत्र एवं प्रदेश र स्थानीय सरकारसँग प्रारम्भिक परामर्श बैठकहरु आयोजना भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

आगामी साउन मसान्तसम्म आवेदन गर्न सक्ने गरी अनलाइन आवेदन सुरु गरिएको छ । कार्यक्रम सम्बन्धी विस्तृत जानकारी आवेदन फारमको नमुना तथा अनलाइन आवेदन फारम संगठनको वेबसाइट http://www.cim.org.np बाट सहज उपलब्ध हुने गरी व्यवस्था मिलाइएको छ । साथै, सम्भावित आवेदनकर्ताका लागि आवेदनमा सहजीकरण गर्न पूर्वआवेदन छलफल कार्यक्रमको समेत आयोजना गरिने बताइएको छ । संगठनको वेबसाइट तथा फेसबुक पेजमार्फत कार्यक्रमसम्बन्धी सूचना नियमित रुपमा प्रचार प्रसार गर्ने योजना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय