बेइजिङ– चिनियाँ स्मार्टफोन ब्रान्ड साओमीले पहिलोपटक एप्पललाई उछिनेर संसारकै दोस्रा बढी बिक्ने ह्यान्डसेट बनेको छ । चालु वर्षको दोस्रो त्रैमासमा साओमी फोन सेट सिपमेन्टमा दोस्रो ब्रान्ड बनेको हो ।

अनुसन्धानको काममा संलग्न कम्पनी कानालिसका अनुसार ल्याटिन अमेरिका, अफ्रिका र युरोपको बढ्दो मागले कम्पनीलाई दोस्रो नम्बरमा उकालेको प्राप्त समाचारमा उल्लेख छ ।

बेइजिङमा रहेको यो स्माटफोन ब्रान्डले विश्व बजारको १७ प्रतिशत हिस्सा ओगटेको छ । पहिलो नम्बरमा रहेको सामसङको बजार हिस्सा १९ प्रतिशत छ । चालु वर्ष २०२१ को दोस्रो त्रैमासमा एप्पल १४ प्रतिशत बजार हिस्सासहित तेस्रो नम्बरमा पुगेको छ ।

ओप्पो र भिभो क्रमशः ४ र ५ नम्बरमा परेका छन् । यिनीहरु दुवैको बजार हिस्सा १०–१० प्रतिशत छ ।

साओमीका सिइओ लेइ जुनले दोस्रो नम्बरमा पुगेको खुसियाली सेयर गर्दै चिनियाँ माइक्रोब्लगिङ साइटमा वोइबोमा लेखेका छन्, ‘आज मलाई केही अविश्वसनीय समाचार सेयर गर्न दिनुहोस् । साओमीको फोन सिपमेन्टले एप्पललाई उछिनेको छ र पहिलोपटक संसारकै दोस्रो बनेको छ ।’

चीनको सबैभन्दा ठूलो स्मार्टफोन ब्रान्डले उदीयमान बजारमा निरन्तर बलियो प्रगति गर्दै आएको छ । ल्याटिन अमेरिकामा यसले ३०० प्रतिशत र अफ्रिकामा १५० प्रतिशत वृद्धि गरेको कानालिसले जनाएको छ । पश्चिमी युरोपमा साओमीले ५० प्रतिशत वृद्धि हासिल गरेको छ । क्यानालिसका रिसर्च म्यानेजर बेन स्टेनटनले एउटा विज्ञप्तिमा भनका छन्, ‘यसले अहिले आफ्ना व्यवसायको मोडलाई चुनौतीदाताबाट अनिवार्यमा रुपान्तरण गरेको छ ।’

चीनको अर्को ठूलो प्रविधि कम्पनी ह्वावे भने टप फाइभबाट बाहिरिएको छ । कुनै समय चीनको सबैभन्दा ठूलो स्मार्टफोन ब्रान्ड रहेको ह्वावे अमेरिकी प्रतिबन्धसँगै तल ओर्लेको हो । गत वर्ष दोस्रो क्वार्टरमा थोरै समय सामसङलाई पनि उछिनेको थियो ।

साओमीको प्रगति विशेष गरी उसको कम बजेटका उपकरणको परिणाम भएको प्राप्त समाचारमा उल्लेख छ । साओमीका मोबाइल सेट सामसङ र एप्पलको तुलनामा ४० देखि ७५ प्रतिशत सस्ता छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय