काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएका माधव नेपाल समूहलाई आममाफी दिने बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले पार्टी एकता गरेर जान आग्रह गर्दै बाटो बिराएकालाई आममाफी दिने बताए ।

‘पुष्पलालबाट प्रेरणा लिऔं, महान विचार कार्यान्वयन गर्न एकजुट होऔं, पद र स्वार्थका कुरा छाडौं, देशका कुरा गरौं, एकताका कुरा गरौं,’ अध्यक्ष ओलीले भने, ‘बाटो बिराएका र भड्किएकालाई आममाफी भयो ।’

पार्टी एकतालाई आग्रह गर्दै उनले अगाडि थपे, ‘आउनोस् मिलेर काम गरौं, यस आन्दोलनलाई मजबुत गरौं, एकजुट भएर जाउँ ।’ यसअघि विभिन्न चरणका पार्टीको आचारसंहिता र विधि उल्लंघन गरेको भन्दै एमालले केहीलाई कारवाहीको घोषणा गरेको तर पुष्पलालको स्मृतिका अवसरमा पार्टी अध्यक्ष ओलीले सबैलाई आममाफी दिने घोषणा गरे ।

उनले भने, ‘म संगठनको प्रमुख हुँ, तर साथीहरू मलाई कु गर्दैछन्, कहिले अध्यक्षबाट हटाउने भन्छन्, केहीले साधारण सदस्यबाटै हटाउने भन्छन् ।’ उनले फुटको बाटोमा लागेर पतनतिर जान नहुने र पुष्पलालले रोपेको बिरुवालाई सानोतिनो हावा हुन्डरीले केही असर नपार्ने जिकिर गरे । अध्यक्ष ओलीले आफूलाई कुनै पनि आन्दोलनले हल्लाउन नसकेपछि अदालतबाट परमादेशको सहारा लिएको दाबी बताए ।

एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टी एकता र सुदृढीकरणको अभियानमा जानुपर्ने जरुरी भएकासमेत बताए । नेकपाका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८० मा रामेछापमा भएको थियो भने २०३५ साल साउन ७ गते निधन भएको थियो । उनले २००६ सालमा पहिलोपटक नेपालमा नेकपा स्थापना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय