काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बिमा योजनाको व्यापक सफलता पश्चात् अझ परिस्कृत रुपमा ‘नौलो केटाकेटी जीवन बिमा योजना’ नामको सावधिक जीवन बिमा योजना ल्याएको छ ।

नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बिमा योजना बजारमा ल्याउने क्रममा यो नौलो केटाकेटी जीवन बिमा योजना ल्याएको जनाएको छ ।

यो योजनामा १ देखि १७ वर्ष उमेर समूहका बालबालिकाको ५ वर्षदेखि ३० वर्षसम्म समय अवधिको न्यूनतम एक लाखदेखि आम्दानीको आधारमा अधिकतम बिमांक छनोट गर्न सकिने कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

यस सावधिक जीवन बिमालेखमा १ वर्षदेखि ७ वर्षसम्म उमेर भएको बिमितको बिमा प्रारम्भ मितिबाट २ वर्ष पूरा भएपश्चात वा ७ वर्ष उमेर पूरा भएपश्चात (जुन पछि आउँछ) मात्र बिमालेख अन्तर्गतको जोखिम प्रारम्भ हुनेछ ।

त्यसैगरी, बीमितको उमेर ८, ९ वर्ष भएमा १० वर्ष पूरा भएपछि र बिमितको उमेर १०, ११ वर्ष भएमा बिमाको वार्षिकोत्सव मितिदेखि बिमालेख अन्तर्गतको जोखिम प्रारम्भ हुनेछ ।

बिमालेख परिपक्व अवधिसम्म बिमित जीवित रहेमा बिमांक रकम र आर्जित बोनस एकमुष्ठ प्रदान हुनेछ । कथम् कदाचित बिमाको जोखिम प्रारम्भ हुनुअगावै बिमितको मृत्यु भएको खण्डमा सम्पूर्ण बिमा शुल्क (ऐच्छिक बिमा शुल्क बाहेक) प्रस्तावकलाई भुक्तान गरिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, बिमा जोखिम सुरु भएपछि बिमितको मृत्यु भएमा तत्काल बिमांक रकमको २५ प्रतिशत भुक्तान दिइने र बाँकी ७५ प्रतिशत बिमांक रकम र आर्जित बोनस रकम ब्याज सहित एकमुष्ठ बिमा अवधि समाप्तिमा प्रस्तावकलाई भुक्तानी दिइने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

वार्षिक ३ किस्ता बिमाशुल्क भुक्तानी गरी जोखिम प्रारम्भ भएको बिमालेखमा ३ वर्ष पूरा भएपछि समर्पण मूल्य प्राप्त हुनेछ भने समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

बिमाशुल्क छुट सुविधा लिएको छ भने बीमालेखले प्रस्तावकको जोखिम समेत बहन गर्ने बताइएको छ । बिमालेख चालु रही बिमा अवधिभित्र प्रस्तावकको दुर्घटनाको कारणबाट स्थायी अंगभंग भई स्थायी अशक्तता भएमा बाँकी बिमाशुल्क भुक्तानीमा पूर्ण छुट दिइनुका साथै अपांग अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्ता मा अपांग अशक्त सुविधा उपलब्ध गराइने छ ।

मासिक आय सुविधा लिएको अवस्थामा बिमालेख प्रारम्भ भएपछि बिमा प्रस्तावको मृत्यु भएमा, मृत्यु भएको अर्को महिनादेखि मासिक आय सुविधा बिमांकको १ प्रतिशत रकम मासिक रुपमा केटाकेटी १८ वर्ष वा बिमा अवधि समाप्ति (जुन अगाडि आउँछ) सम्म कम्पनीले उपलब्ध गराउने छ । त्यसैगरी बच्चाको जोखिम कभर सुविधा लिएका बिमितको हकमा बिमा प्रारम्भ भएको २ वर्षपछि नै बच्चाको जोखिम बहन गर्न सकिने बताइएको छ ।

नेपाल लाइफले समयसापेक्ष प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । कम्पनीको बिमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा छ ।

नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवा, खल्ती, कनेक्ट आइपिएस, फोन पे, आइएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ । ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष सेवा तथा सुविधा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय