काठमाडौं– नेपाल सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि दुई करोड ६५ लाख नागरिकलाई खोप लगाउने लक्ष्य तोकेको छ । ती सबैलाई खोप लगाउन पाँच करोड ३५ लाख मात्रा आवश्यक हुन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा तारानाथ पोखरेलका अनुसार हालसम्म ९७ लाख ८२ हजार ८५० मात्रा खोप प्राप्त भएको छ ।
हालसम्म कोभिसिल्ड २४ लाख ४८ हजार, भेरोसेल ५८ लाख र जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा प्राप्त भएको छ । तीमध्ये कोभ्याक्स सुविधामार्फत भारतबाट कोभिसिल्ड तीन लाख ४८ हजार र अमेरिकाबाट जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा, वैदेशिक अनुदानबाट २९ लाख मात्रा, चीनबाट १८ लाख मात्रा र भारतबाट ११ लाख मात्रा आएको छ । यसैगरी, सरकारले खरिद गरेर ५० लाख मात्रा ल्याएको छ । किनेकोमा भारतबाट कोभिसिल्ड १० लाख र चीनबाट भेरोसेल ४० लाख मात्रा आएको छ ।
आउन बाँकी
सरकारले चीनबाट अनुदानमा १६ लाख मात्रा, चीनसँग किनेर ६० लाख भेरोसेल खोप आगामी भदौ मसान्तसम्म र भारतमा किनेको कोभिसिल्डको १० लाख मात्रा भदौ पहिलो साता नेपाल आइपुग्ने तालिका छ ।
यसैगरी, वैदेशिक अनुदान अन्तर्गत चीन सरकारबाटै साउन मसान्तभित्र भेरोसेलको १६ लाख मात्रा, कोभ्याक्स सुविधामार्फत जापानबाट अस्ट्राजेनेका १६ लाख मात्रा भदौ पहिलो साता र कोभ्याक्समार्फत नै तीन लाख ३८ हजार मात्रा थप खोप नेपाल आउने तालिका छ ।
परिवार कल्याण महाशाखाका निर्देशक डा पोखरेलका अनुसार कोभ्याक्समार्फत लागत सहभागितामा कोभिसिल्ड, मोडेर्ना, फाइजर, जोन्सन एन्ड जोन्सन र सिनोभ्याक गरी करिब एक करोड ५० लाख मात्रा तथा बालबालिकाका लागि ६० लाख मात्रा फाइजर खोप ल्याइने छ ।
उनले बालबालिका लागि लगाउने खोप खरिद प्रक्रिया पनि सुरु गरिएको जानकारी दिए । आगामी असोज मसान्तसम्म एक करोड पाँच लाख ४८ हजार खोप ल्याउने र असोजदेखि चैतसम्म नेपालमा थप तीन करोड २३ लाख मात्रा खोप ल्याउने सरकारी योजना छ ।
खोप ल्याएर असोज मसान्तभित्रमा खोप लगाउने लक्ष्यमध्ये ३३ प्रतिशतलाई र चैत मसान्तभित्र सबैलाई खोप लगाइसक्ने सरकारको लक्ष्य छ । चालु आर्थिक वर्षमा सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड र खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । अहिलेसम्म नेपालमा ३५ लाख ४४ हजार ४३ जनाले पहिलो मात्रा र १५ लाख तीन हजार ३१२ जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् ।









