काठमाडौं– ललितपुर महानगरपालिकाका सबै वडाबाट ४५ वर्ष नाघेकालाई कोरोनाविरोधी चिनियाँ खोप भेरोसेल दिइने भएको छ ।
शुक्रबारदेखि तीन दिनसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको हो । कोभिड–१९ विरुद्धको सो खोप ४५ वर्षमाथिका नागरिकले प्रत्येक वडाका खोप केन्द्रमा गएर लगाउन सक्नेछन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार आउँदो सोमबार अमेरिकाले अनुदानमा दिएको जोन्सन एन्ड जोन्सनको खोप पनि लगाउने तयारी छ ।
यसैगरी गोदावरी नगरपालिकामा ५० वर्षमाथिका नागरिकका साथै कलेज तथा विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक एवं ‘क’ र ‘ख’ वर्गमा परेका अपांगता भएकालाई खोप लगाइने नागरपालिकाले जनाएको छ ।
महालक्ष्मी नगरपालिकामा भने सो उमेर समूहका कोभिडविरुद्धको पहिलो मात्राको भेरोसेल लगाउन छुटेका नागरिकलाई बिहीबारदेखि आजसम्म खोप लगाइएको छ । त्यसैगरी, दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा आउँदो आइतबार र सोमबार खोप लगाउने तयारी छ ।









