काठमाडौं– मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त हाइड्रोपावरको प्रारम्भिक सेयर निष्कासन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको हो । हाइड्रोपावरका कार्यकारी अध्यक्ष हिमाल गुरुङ र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले सम्झौतापत्रमा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले पुँजी ७६ करोडको ३० प्रतिशत २२ करोड ८० लाख बराबरको २२ लाख ८० हजार कित्ता प्रारम्भिक सेयर निष्कासन गर्नेछ । यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि सात लाख ६० हजार कित्ता र बाँकी सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।
सो कम्पनीले निर्माण गरिरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फन्डको समेत लगानी छ ।









