काठमाडौं– टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र एनएमबि बैंक लिमिटेडबीच सम्झौता भएको छ । अब टाटा मोटर्सको इलेक्ट्रिक भेहिकल नेक्सन इभी किन्न चाहने खरिदकर्ताले एनएमबि बैंकको नेपालभरका शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।
उक्त कर्जा सम्झौता अन्तर्गत नेक्सन इभी खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले शून्य प्रतिशत प्रिमियम सहित बैंकको बेस रेट ब्याजदरमा एनएमबि बैंकका नेपालभरका शाखाबाट कर्जा प्राप्त गर्न सक्नेछन् । बैंकले २४ कार्य घन्टाभित्र ८० प्रतिशतसम्म फाइनान्सको सुविधा उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ ।
उक्त सम्झौतापत्रमा सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति र एनएमबि बैंकका व्यापार तथा रणनीति प्रमुख अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरेका छन् ।
टाटाका गाडी खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थालाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, परिपत्र तथा बैंकको नीति अनुसार ग्राहकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।









