काठमाडौं– गृहमन्त्री वालकृष्ण खाँडले सुनचाँदी व्यवसाय सञ्चालनमा क्रममा देखा पर्ने समस्या समाधान गर्न सरकारले सहयोग गर्ने आश्वासन दिएका छन् ।
नेपाल सनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग आज भएको भेटका क्रममा मन्त्री खाँडले व्यवसाय सञ्चालनका क्रममा देखिने जुनसुकै समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने बताए ।
‘मुलुकको कानुनले तोकेको सीमाभित्र रही कुनै पनि पेसा व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्न पाउनु सबैको अधिकार हो,’ मन्त्री खाँडले भने, ‘यसरी व्यवसाय सञ्चालन गर्दा कहीँ कतैबाट समस्या आइपर्छन् भने त्यसलाई हटाउन हामी तयार छौं ।’
सुनको खरिद–बिक्री, ओसारपसार, गरगहनाको निर्यात जस्ता काम गर्दा कहीँ कतैबाट अप्ठेरो पर्न नहुने भन्दै उनले व्यवसाय सञ्चालनका दौरान अनावश्यक झन्झट र समस्या आएमा त्यसको निराकरणका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
गृहमन्त्री खाँडसँगको भेटमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी व्यवसाय सञ्चालनका क्रममा व्यवसायीले भोग्नुपरेका समस्या जानकारी गराएका थिए । व्यवसायीले तोकिएको प्रक्रिया पूरा गरेर किनेको सुन ओसारपसार गर्दा पनि अनावश्यक रुपमा झमेला बेहोर्नु पर्ने, सुन खरिदबिक्रीका क्रममा अनावश्यक झन्झट आइपर्ने, अनाहकमा व्यवसायीलाई दुःख दिइने र झुटा मुद्दा लगाइने जस्ता समस्याबारे मन्त्री खाँडलाई जानकारी गराइएको थियो ।
यस्तै, दिनदाहाडै व्यवसायीको हत्या गर्ने, चोरी र लुटपाट गर्ने जस्ता घट्ना बढ्दै गएकोमा पनि उनले गृहमन्त्री खाँडको ध्यानाकर्षण गराए ।
मन्त्री खाँडसँगको भेटमा अध्यक्ष शाक्यसहित महासचिव धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरणभाइ बज्राचार्य लगायत सहभागी थिए ।









