काठमाडौं– भर्खरै नेप्सेमा सूचीकृत जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा दोब्बर नाफा कमाएको छ । संस्थाको गत आर्थिक वर्ष २०७७–०७८ को प्रतिसेयर आम्दानी ११३ रुपैयाँ ३४ पैसा कायम भएको छ । अघिल्लो वर्षको तुलनामा १३० रुपैयाँ ५३ पैसाले घट्दा पनि गत आर्थिक वर्षको कम्पनीको प्रतिसेयर आम्दानी ११३ रुपैयाँभन्दा माथि छ ।
यो संस्थाको प्रतिसेयर नेटवर्थ ३१५ रुपैयाँ २२ पैसा छ । गत आर्थिक वर्षमा संस्थाको खुद नाफा १०१.९७ प्रतिशत बढेर ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ पुगेको वित्तीय विवरण सार्वजनिक भएको छ । अघिल्लो आवको सोही अवधिमा यसको खुद नाफा ३४ करोड १४ लाख २३ हजार रुपैयाँ थियो ।
गत वर्ष संस्थाको सञ्चालन मुनाफा भने ९.४६ प्रतिशत घटेर ३८ करोड ३७ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ । सम्भावित जोखिमका लागि ७६ करोड १७ लाख रुपैयाँ प्रोभिजनिङ गर्नुपरेकाले सञ्चालन मुनाफा घटेको हो । गत वर्ष जीवन विकासले ६७ करोड १७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।
६० करोड ८४ लाख रुपैयाँ चुक्तापुँजी रहेको संस्थाको जगेडा कोष १३७.६२ प्रतिशत बढेर १ अर्ब ३० करोड ९४ लाख ७ हजार रुपैयाँ, सापटी १९३.१७ प्रतिशत बढेर ९ अर्ब ९२ करोड ४७ लाख ४९ हजार रुपैयाँ, निक्षेप ४३.८८ प्रतिशत बढेर ८ अर्ब ९ करोड ४ लाख १९ हजार रुपैयाँ र कर्जा लगानी ९१.८७ प्रतिशत बढेर २० अर्ब ४५ करोड ८२ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।
यो संस्थाको सेयर केही दिनअघि मात्र दोस्रो बजारमा किनबेच हुन थालेको छ ।









