काठमाडौं– जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब पाँच लाख मात्रा खोप आज काठमाडौं आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा अस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिएका छन् ।
जापानले नेपाललाई १६ लाख मात्रा अस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै भोलि थप तीन लाख खोप नेपाल आउनेछ । जापानले दिने भनेको बाँकी खोप एक साताभित्र नेपाल आउने मन्त्रालयले जनाएको छ ।
शुक्रबार भुटानबाट पनि दुई लाख ३० हजार मात्रा कोभिसिल्ड खोप प्राप्त भएको छ । जापानबाट प्राप्त खोप यसअघि कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइनेछ । नेपालले खरिद गरेको खोप भारतले उपलब्ध नगराउँदा कोभिसिल्ड खोप लगाएका १४ लाख ५० हजार व्यक्तिले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।
जापान र भुटानबाट आएको खोप कोभिशिल्डको दोस्रो मात्रा नपाएका नागरिकलाई लगाइने मन्त्रालयले जनाएको छ । हालसम्म खरिद र अनुदान गरेर करिब एक करोड मात्रा खोप नेपाल आइपुगेको छ । नेपालले ६० लाख मात्रा खोप खरिद गरेको छ । चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिसिल्ड खोप खरिद गरिएको छ । भारतबाट खरिद गरिएकामध्ये १० लाख मात्रा खोप अझैसम्म आपूर्ति भएको छैन ।
यसैगरी, भारतबाट अनुदानमा ११ लाख कोभिसिल्ड (नेपाली सेनासहित) प्राप्त भएको छ । चीनबाट १८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ । यस्तै गाभीबाट तीन लाख ४८ हजार कोभिसिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जे एन्ड जे खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
खोपको नियमित आपूर्ति हुन थालेपछि सरकारले खोप केन्द्र पनि थप गरेको छ । खोप केन्द्रमा भीडभाड देखिएको र खोप लगाउनेबाटै संक्रमण फैलन सक्ने देखिएपछि सरकारले एक हजार ४३३ खोप केन्द्र थप गरेको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकामा अहिले त्यो संख्या चार हजार ४२२ पुर्याइएको छ । काठमाडौं उपत्यकामा ८३ खोप केन्द्र थप गरी १४९ पु¥याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए ।
सरकारले आगामी असोज मसान्तभित्र एकतिहाई नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । यस्तै आगामी चैत मसान्तभित्र खोप लगाउने उमेर समूहका सबै नागरिकलाई पूर्ण खोप लगाउने लक्ष्यका साथ सरकार अघि बढेको छ । २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको थियो । अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ व्यक्तिले पहिलो मात्रा र २२ लाख आठ हजार ५५ ले पूर्णमात्रामा खोप लगाइसकेका छन् ।









