सोलुखुम्बु– ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोसी) जलविद्युत आयोजना निर्माण गरिरहेको साहस ऊर्जा लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ ।

जिल्लाको थुलुङ दूधकोसी–३ पञ्चनमा निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि आइपिओ निष्काशन गर्ने भएको हो ।

नेपाल धितोपत्र बोर्डबाट एक करोड पाँच लाख कित्ता साधरण सेयर निष्काशन गर्न अनुमति पाएको साहस ऊर्जाले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका नागरिकका लागि ३५ लाख कित्ता सेयर निष्कासन गर्ने जनाएको छ ।

सोलुखुम्बु जिल्लाका नागरिकले साउन २९ देखि भदौ ११ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ । उक्त समयमा खुला गरिएको सेयर बिक्री नभएमा ढिलोमा भदौ २७ सम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिसेयर १०० मूल्यका दरले ३५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको कम्पनीका अध्यक्ष हिम पाठकले जानकारी दिए ।

उनका अनुुसार ग्लोबल आइएमई बैंक सल्लेरी, नेपाल इन्भेस्टमेन्ट बैंक लुक्ला, लक्ष्मी बैंक मुक्ली र नेले शाखा, माछापुच्छ«े बैंक सल्लेरी र प्राइम कमर्सियल बैंक रमिते शाखाबाट आवेदन दिन सकिनेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने अध्यक्ष पाठकले बताए ।

आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आइपिओ निष्काशनपछि कम्पनीको चुक्तापुँजी तीन अर्ब ५० करोड पुग्ने छ । उक्त आयोजना ११ अर्ब ८६ करोडमा बन्ने अनुमान गरिएको छ । आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको कन्सोर्टियम लिडमा नौ बैंकले आठ अर्ब ६५ करोड ऋण लगानी गरेका छन् ।

जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्ला र थुलुङ दूधकोसी–१ नेलेमा पर्ने सोलुखोलामा ड्याम निर्माण गरी सुरुङमार्गमार्फत थुलुङदूधकोसी–३ पञ्चनमा विद्युत गृह निर्माण गरिँदैछ । निर्माण कम्पनीका अनुसार आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

सोलुखोलामा २३.५ मेगावाट क्षमताको माथिल्लो सोलुखोला निर्माण सम्पन्न भएर उत्पादन सुरु भएको छ भने ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला जलविद्युत् आयोजना, १९.५ मेगावटमा बेनी हाइड्रोपावर प्रोजेक्टको काम पनि अन्तिम चरणमा पुगेको सम्बन्धित आयोजनाले जनाएका छन् । यद्यपि ती कम्पनीले साधरण सेयर भने वितरण गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय