काठमाडौं– नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजत पाएको कामना सेवा विकास बैंकमा पनि डिम्याट खाता खोल्न मिल्ने भएको छ । सो प्रयोजनका लागि बैंकले सिडिएस एन्ड क्लियरिङ (सिडिएससी) लिमिटेडको सदस्यता लिएको छ ।
आइतबार बैंक र सिडिएससीबीच निक्षेप सदस्यतासम्बन्धी सम्झौता भएको हो । अब कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले सर्वसाधारणलाई डिम्याट खाता लगायत निक्षेप सदस्यले दिने अन्य सेवा दिन पाउनेछ ।
सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य र कामना सेवाका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले सम्झौतामा हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । हाल सिडिएससीबाट ७८ वटा संस्थाले निक्षेप सदस्यता लिएका छन् । बैंकले निक्षेप सदस्यसम्बन्धी कार्य चाँडै सुरु गर्ने योजना बनाएको छ ।









