काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले काठमाडौंको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो ‘स्काई वाक टावर’ परियोजनामा लगानी गर्ने भएको छ । ती परियोजनाहरुमा लगानी गर्न परियोजना प्रवर्द्धक वोन्डर्स ग्रुप र निफ्राबीच सोमबार कर्जा लगानी सम्झौता सम्पन्न भएको छ ।

बैंकले निफ्राको एकल लगानीमा मुलुककै पहिलो ‘स्काई वाक टावर’ परियोजना निर्माण र सञ्चालन हुने जनाएको छ । उक्त टावरहरु वोन्डर्स ग्रुपले निर्माण गर्न लागेको हो ।

कमलादीस्थित ‘स्काई वाक टावर’ ७८ मिटर उचाइको हुने र त्यसमा योगा स्थल, रेस्टुरेन्ट लगायत मनोरञ्जनात्मक क्रियाकलापको लागि व्यवस्था सहितको पूर्वाधार रहने बताइएको छ । मुलुककै अग्लो टावरबाट काठमाडौं उपत्यकाको दृश्य शिशाको सतहबाट अवलोकन गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । उक्त परियोजनाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

भेडेटारमा सार्वजनिक–निजी साझेदारी अवधारणा अन्तर्गत ‘स्काई वाक टावर’ निर्माण गर्न लागिएको हो । प्रदेश १ को लगानी प्राधिकरण र परियोजना निर्माणकर्ताबीच भएको परियोजना विकास सम्झौता अनुरुप निर्माण हुन लागेको उक्त परियोजनाले देशको पूर्वी भूभागको मुख्य पर्यटकीयस्थलको रुपमा परिचित भेडेटारमा थप आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न मदत गर्ने अपेक्षा छ । बैंकले यी दुई परियोजना निर्माणका लागि ६७ करोड ५० लाख बराबरको कर्जा सीमा स्वीकृत गरेको छ ।

बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायत अधिकारी सहभागी थिए । परियोजनाको तर्फबाट अध्यक्ष प्रबेन्द्र पोखरेल र सञ्चालकहरु पदमप्रसाद न्यौपाने, तेजबहादुर सिंह, खेमराज न्यौपाने तथा व्यवस्थापन समूहको उपस्थिति थियो ।

कार्यक्रममा अध्यक्ष पोखरेल र सञ्चालक पदमप्रसाद न्यौपानेले परियोजनाको लक्ष्य सहित भावी योजनाबारे जानकारी गराएका थिए । निफ्राले नयाँ सोचका साथ अगाडि बढेको समूहलाई विश्वास गरी पूर्ण प्रोजेक्ट फाइनान्सिङको अवधारणा अंगीकार गरी कर्जा स्वीकृति भएको र सम्झौता सम्पन्न हुँदा आफूहरु निकै उत्साहित भएको बताए ।

यी परियोजनाको निर्माण कार्य द्रुत गतिमा सञ्चालन गरी तोकिएको मितिभित्रै व्यावसायिक सञ्चालन सुरु गर्ने उनले बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृतले निफ्रा यस्तै किसिमका पूर्वाधार निर्माणमा वित्तीय पहुँच पुर्याउन स्थापित भएको हुँदा भविष्यमा समेत यस्ता नविनतम सोचलाई हातेमालो गर्ने बैंकको रणनीति रहेको जानकारी गराए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय